काठमाडाैं,१८ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशका लागि जे गर्न तयार भएपनि प्रतिक्रियावादीका अगाडि कहिल्यै नझुक्ने बताउनुभएकाे छ ।
अनेरास्ववियु केन्द्रीय कमिटीको प्रथम बैठक तथा विस्तारित भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयाे - 'केपी ओली जेल बस्न, जेसुकै गर्न तयार हुन्छ, तर प्रतिक्रियावादीका अगाडि झुक्न, निउँरिन र लम्पसार पर्न तयार हुँदैन, तपाईंहरु ढुक्क हुनुस् ।'
केही दिन अगाडि समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले केपी ओली अब राजासँग मिल्ने भन्दै अभिव्यक्ति दिनुभएकाे थियाे । साेही अभिव्यक्तिकाे जवाफमा अध्यक्ष ओलीले भन्नुभयाे - 'एउटा गठबन्धनवालाले अस्ती भनेकाे सुनेँ- केपी ओली अब राजासँग मिल्छ रे, कहाँ छ राजा ? र राजासँग मिल्छ कस्ताे बुद्धि, कस्ताे मानसिकता, मैले स्मरण गराउँछु, वरिपरि परिक्रमा गरेर, पाउमा दाम राखेर ढाेग्ने मान्छे केपी ओली हाेइन ।'
आफ्ना विद्यार्थी,नेता-कार्यकर्ता,गरिब दुखी जनताका लागि पाउमा दाम राख्न तयार भएपनि देशदाेह्रीकाे शासकसँग झुक्ने मानिस केपी ओली नभएकाे बताउँदै उहाँले भन्नुभयाे - 'म मेरा भाइबहिनीका पाउमा दाम राख्न तयार छु तर कुनै शासक र प्रतिक्रियावादीका पाउमा दाम राख्ने मान्छे हाेइन, म गाउँका गरिब किसान अछुत भनिएकाहरुकाे पाउमा दाम राखेर ढाेग्न तयार हुन्छु ठूलाे कुरा मैले मेरा दाजुभाइ दिदीबहिनीलाई सम्मान गर्छु, कुनै प्रतिक्रियावादी, जनविराेधी देशदाेह्री शासकहरु राजा महाराजाहरुलाई परिक्रमा गरीगरी पाउमा दाम राखेर ढाेग्ने काम केपी ओलीले गर्दैन ।'
आफू जनताकाे अभिमतबाट प्रधानमन्त्री भएकाे भन्दै उहाँले कसैसँग पद माग्न जाने काम नगर्ने उद्घाेष उहाँले गर्नुभयाे । अध्यक्ष ओलीले भन्नुभयाे - 'दर्ता चलानी फाँटमा यस्साे प्वालबाट निवेदन छिराएर प्रधानमन्त्री माग्न जाँदैन, जेल बस्न जेसुकै गर्न तयार हुन्छ तर प्रतिक्रियावादीका अगाडि झुक्न निउँरिन लम्पसार पर्न तयार हुँदैन ।' नेकपा एमाले एउटा सिद्धान्त र दर्शन बाेकेकाे पार्टी भएकाे भन्दै उहाँले एमालेले यस्ता गलत काम कहिल्यै नगर्ने बताउनुभयाे ।



















