तनहुँ, २० चैत । शुक्लागण्डकी नगरपालिका–७ स्याउली बजारका टिकाराम शर्माले हिजो जग्गाधनी लालपुर्जा प्राप्तिका लागि निस्सा प्राप्त गर्नुभयो । राष्ट्रिय भूमि आयोगसँगको सहकार्यमा शुक्लागण्डकी नगरपालिकाले उहाँको हातमा निस्सा थमाइदिँदा पनि उहाँको मुहारमा खुसी छाएन । निस्सा पाएकाको जग्गा नाप जाँच हुने र लाालपुर्जा दिइने भन्दै गण्डकी प्रदेशसभा सदस्य आशा कोइराला, भूमि आयोग तनहुँका अध्यक्ष रामचन्द्र अधिकारी र शुक्लागण्डकीका मेयर किसान गुरुङले निस्सा बाँड्नुभएको थियो ।
२०३२ सालदेखि भानुमतीको थात्थलो छाडेर स्यालीबजार बसाइ झर्नुभएको उहाँको एउटै सपना छ, ‘सिरानीमा लालपुर्जा च्यापेर निदाउने । नगरपालिकाले बाँडेको निस्सा हातमा हुँदा पनि लालपुर्जा पाइन्छ भन्ने झिनो आश नभएको उहाँले बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘सबैले लिँदा किन नलिम भनेर मात्र निस्सा लिएको हो । लालपुर्जा हातमा नपरुन्जेलसम्म भरोसा कत्ति पनि छैन ।’ जब हातमा लालपुर्जा पर्छ तब मात्र खुसी हुने उहाँले बताउनुभयो ।
‘यो औपचारिक मात्रै हो । निर्वाचनको भोटलाई गर्या हो । पाँच प्रतिशत पनि विश्वास छैन’, उहाँले भन्नुभयो । निस्सा पाएका सबैसँग यस्तै–यस्तै आशंका थिए । ३० वैशाखमा हुन लागेको निर्वाचनको संघारमा निस्सा बाँडिएकाले भोट तान्ने उपाय हुन सक्ने आशंका गर्छन् बाबुराम सिग्देल । निस्सा थमाउँदैमा खुसी हुने अवस्था नरहेको उहाँले सुनाउनुभयो । पटक–पटक लालपुर्जा दिन्छौँ भनेर ढाटिएकाले निस्सा बाँँड्दा पनि आश नपलाएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार धेरै पटक बस्तीमा मन्त्री नै आएर लालपुर्जाको आश्वासन बाँडे, पूरा कहिल्यै गरेनन् । ‘निस्सा लिएर लालपुर्जा पाउने झिनो आश पनि छैन । एक फेर हो र ? पटक–पटक भएपछि कसरी आश गर्ने’, उहाँले भन्नुभयो । लालपुर्जा नभएकाहरुले सरकार भएको महसुस गर्नै नपाएको उहाँले बताउनुभयो । आफूले उपभोग गरेको जग्गाको लालपुर्जा नभएपछि बैंकमा धितो राखेर ऋण झिक्नसमेत नपाएको उहाँको भनाइ छ ।
निस्साले टिकाराम र बाबुरामलाई जस्तै विष्णुमाया श्रेष्ठलाई पनि लालपुर्जाको आश दिलाउन सकेन । बरु यसपालि पनि लालपुर्जा पाइँदैन होला भनेर आशंकित बनाएको छ उहाँलाई । निस्सा बाँड्दै लालपुर्जा दिन्छौँ भन्नु चुनावी आश्वासन ठानेकी छन् उहाँले । लालपुर्जाको कुरा सुन्दा सुन्दै कान थाकेको उनले बताउनुभयो । ‘लालपुर्जाको आश्वासन धेरै पाइयो । आशमा धेरै पटक फारम पनि भर्यौं । हातमा पर्दैन’, उहाँले भन्नुभयो ।
जानकारहरूका अनुसार २०३० सालपछि शुक्लागण्डकीका स्थानीयलाई लालपुर्जा दिन गरिएको प्रयास यो आठौँ पटक हो । अहिलेसम्म सफल भएको देखिँदैन । आइतबार शुक्लागण्डकी नगरपालिका–७ का ३९ घरलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया सुरु भएको भन्दै निस्सा बाँडिएको छ । २४७ परिवारको निस्सा आएको भए पनि वितरण कार्यक्रममा धेरै सहभागी नै भएनन् । लालपुर्जा पाइन्छ भन्ने आश नभएको भन्दै धेरै सहभागी भएनन् ।
वडाबाट ९३० भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले लालपुर्जा प्राप्त गर्न निवेदन दिएकोमा ८६६ को विवरण अनलाइनमा दर्ता भएको छ । निस्सा आएकाको वितरण थालेको शुक्लागण्डकी नगरपालिका–७ का वडाध्यक्ष रामबहादुर क्षेत्री थापाले बताउनुभयो । निस्सा वितरण लालपुर्जाको प्रक्रिया सुरु भएको उनले बताए । उनका अनुसार अब नक्सा नापजाँच गरेर लालपुर्जा वितरण हुनेछ । आफ्नै कार्यकालमा हरेकको हातमा लालपुर्जा थमाउने शुक्लागण्डकीका मेयर किसान गुरुङले बताउनुभयो ।
काम गर्दा गर्दै पनि आफ्नो कार्यकालमा नसकिएपनि अब आउने जनप्रतिनिधिले लालपुर्जा बाँड्ने उहाँले उल्लेख गर्नुभयो । शुक्लागण्डकी नगरपालिकाको वडा नम्बर ७ सँगै ८ र २ मा अव्यवस्थित, सुकुम्बासीको बसोबास अधिक छ । शुक्लागण्डकीका १२ वडाबाट चार हजार ४०३ भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले लालपुर्जाका लागि निवेदन दिएका छन् । बस्तीमा सडक, बिजुली, खानेपानी, विद्यालयजस्ता आधारभूत विकास त भएको छ नै । र पनि पुर्जाविहीन हुनुको पीडाले सताइरहने बताउँछन् स्थानीयवासी ।



















