चितवन, २१ चैत्र । माओवादी निकट चलचित्रकर्मी विमल पौडेल नेकपा (एमाले)मा प्रवेश गर्नुभएको छ । सोमबार भरतपुरमा आयोजित एक कार्यक्रममा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पौडेललाई पार्टी प्रवेश गराउनुभएको हो ।
पौडेल माओवादी सशस्त्र संघर्षको कथावस्तुमा आधारित चलचित्र ‘जनयुद्ध’का लेखक तथा निर्देशकसमेत हुनुहुन्छ । उहाँ नेपाल चलचित्र निर्माता संघका उपाध्यक्ष र चलचित्र निर्देशक समाजका पूर्वअध्यक्ष पनि हुनुहुन्छ । चलचित्र विकास बोर्डका पूर्वअध्यक्षसमेत रहेका पौडेल ओस्कार कमिटी नेपालका अध्यक्ष हुनुहुन्छ ।
उहाँले किसान, नागरिक, झिल्कोजस्ता चलचित्रको निर्देशन र प्रेमपूजा, दाइजो लगायत चलचित्रमा अभिनय पनि गर्नुभएको छ। सोही कार्यक्रममा नेपाल बोटे समाज चितवनका सचिव प्रदिप बोटे पनि एमाले पार्टीमा प्रवेश गर्नुभएको छ । उहाँले बोटेहरुको मुद्दामा पार्टीहरू बेखबरजस्तै हुने गरेकाले एमालेले आफूहरूको समस्यामा साथ दिनु पर्ने माग गर्नुभयो ।



















