काठमाडाैं,२३ चैत । नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले सरकारले पुँजीगत खर्च गर्न नसकेको बताउनुभएको छ ।

रिपोटर्स क्लबले बुधबार काठमाडौंमा गरेको साक्षात्कारमा नेता महतले अहिले नेपालको आर्थिक अवस्थामा केही समस्या आएको बताउनुभयाे । उहाँले भन्नुभयाे - 'यस्तो बेला सरकारले पुँजीगत खर्च गर्न सकिरहेकाे छैन ।'

नेपालमा अनुपयुक्त रुपमा बजेट धेरै ठूलो घोषणा गर्ने काम भएको भन्दै उहाँले याे गलत रहेकाे बताउनुभयाे । चालु आर्थिक वर्षमा १६ खर्बको बजेट रहेको र गत ७ महिनामा जम्मा ५ खर्बमात्रै खर्च भएको तथ्यांक पनि उहाँले प्रस्तुत गर्नुभयाे । '७ महिनामा जम्मा ३५ प्रतिशतमत्रै खर्च भएको छ,अब ४-५ महिना बाँकी छ, अब धेरै खर्च हुने सम्भावना छैन, कुल भएको खर्चको १० प्रतिशत मात्रै पुँजीगत खर्च भएको देखिन्छ, विकास खर्च भएको छैन'-महतले भन्नुभयाे ।

देशकाे अर्थतन्त्रका खराब अवस्थामा जान लागेकाे भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयाे । व्यापार घाटा निक्कै बढेकाे, विदेशबाट आयात निक्कै बढेको, विदेशी मुद्राको सञ्चिती र रेमिट्यान्स पनि कम भएको उहाँले सुनाउनुभयाे । 'गत ७ महिनामा ११ खर्ब ६० अर्ब विदेशबाट आयत भएको छ, वस्तु सामानको कुरा गर्दा, अनि निर्यात चाहिँ १ खर्ब ३० अर्बको मात्रै भएको छ, व्यापार घाटा १० खर्ब भएको छ, अब ५ महिनामा यही हिसाबले बढ्ने हो भने १५-१६ खर्ब व्यापार घाटा हुनेछ'-महतले भन्नुभयाे ।

विकास आयोजनाहरुको सही तवरले कार्यान्वयन गर्न उहाँले सुझाव दिनुभयाे । देशकाे आर्थिक विकासका लागि आर्थिक वृद्धिद्धर बढाउनुपर्ने, आन्तरिक र वदैशिक लगानी बढाउनुपर्ने लगायत सुझाव पनि उहाँले दिनुभयाे ।