सुन्दरहरैंचा,२६ चैत । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ५ मा नेकपा एमालेले आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनौट सम्पन्न गरेको छ । सुन्दरहरैंचा नगरपालिकामा बहुमतको अवस्थामा रहेको नेकपा एमालेले सबैभन्दा सुरुमा वडा नम्बर ५ का उम्मेदवारको छिनोफानो लगाएको हो ।

अनौपचारिक रुपमा केही दिन अघि नै उम्मेदवार तय गरेपनि आज भने औपचारिक रुपमा सर्वसहमतिमा उम्मेदवार चयन गरिएको वडा कमिटी अध्यक्ष विशाल गुरागाईंले जानकारी दिए । एमालेले वडा नम्बर ५ मा हालका निर्वाचित वडासदस्य तथा नेकपा एमाले सुन्दरहरैंचा नगर कमिटी सदस्य गणेश चौधरीलाई वडाध्यक्षको उम्मेदवार बनाएको हो ।

राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य समेत रहेका चौधरी अघिल्लो स्थानीय तहको निर्वाचनमा सुन्दरहरैंचा ५ बाट सबैभन्दा बढी मत पाएर निर्वाचितभएका थिए । एमालेको किल्लाको रुपमा रहेको सुन्दरहरैंचा ५ मा गत निर्वाचनमा चार वटै वडा वडासदस्य नेकपा एमालेले जितेपनि वडाध्यक्ष भने गुमाएको थियो । तर यसपटक अघिल्लो निर्वाचनमा सबैभन्दा लोकप्रिय मत पाएका हालका वडासदस्य चौधरीलाई वडाध्यक्षको उम्मेदवार बनाएको तथा वडामा नेकपा एमालेको लहर अझ बढेकाले सुन्दरहरैंचा ५ मा नेकपा एमालेको जित सुनिश्चित रहेको स्थानीय जनताहरुको भनाई छ । यस्तै वडाध्यक्ष पदका उम्मेद्वार चौधरीले आफुहरुले विवादरहित तरिकारले उम्मेदवार छनौट गरेकाले पनि पार्टी एकढिक्का भएकाले यसपटक ५ वटै पदमा नेकपा एमालेको जित पक्क रहेको बताउनुभयो ।

वडाध्यक्षका उम्मेदवार चौधरी सुन्दरहरैंचा ५ को बाँसबारीका पुराना बासिन्दा हुनुहुन्छ । युवाहरु माझ निकै लोकप्रिय रहेका चौधरी मिलनसार, सहयोगी तथा सरल स्वभावका छन । सुन्दरहरैंचा ५ पहिले देखि नै एमालेको लालकिल्लाको रुपमा रहेको तथा थारु समुदायको बाक्लो बसोबास रहेकाले पनि चौधरीलाई बलियो उम्मेदवारको रुपमा हेरिएको छ । साथै अघिल्लो निर्वाचनमा चौधरीले सबैभन्दा बढी मत पाएर विजयी भएको र वडाध्यक्ष बाहेक सबै पदमा नेकपा एमाले विजयी भएकाले पनि चौधरीलाई निकै बलियो उम्मेदवारको रुपमा लिन सकिन्छ ।

नेकपा एमालेले सुन्दरहरैंचा ५ मा अन्य उम्मेदवारहरुमा खुल्ला सदस्यतर्फ श्याम खनाल र घनश्याम घले गुरुङ, महिला सदस्यतर्फ इन्द्रीरा चापागाईं(घिमिरे) र दलित महिला सदस्यतर्फ रोशनी परियारलार्य उम्मेदवार बनाएको छ । खनाल नेकपा एमालेको शाखा कमिटी सदस्य तथा टोल कमिटी अध्यक्ष हुन भने गुरुङ एमालेको शाखा कमिटी सचिवालय सदस्य तथा राष्ट्रिय युवा संघ नगर कमिटी सदस्य हुन । यस्तै चापागाईं पार्टीको शाखा कमिटी सचिवालय सदस्य, अखिल नेपाल महिला संघ नगर कमिटी सदस्य तथा वडा कमिटी अध्यक्ष हुन भने परियार पार्टीको शाखा कमिटी सदस्य तथा अखिल नेपाल महिला संघ शाखा कमिटी सदस्य हुन ।