रौतहट, २७ चैत । नेकपा माओवादीको १० वर्षे सशस्त्र युद्धमा कमाण्डर रहेका गोपाल जिम्बा नेकपा एमालेमा प्रवेश गरेका छन् । युद्धमा लाग्दा उनले देशमा परिवर्तन हुन्छ भन्ने सोचेका थिए । सबै जनताले समानता प्राप्त गर्दछन् भन्ने उनलाई लागेको थियो । तर त्यस्तो नभएको उनको देखे ।

युद्ध सकियो । तर देशमा माओवादीबाट केही पनि परिवर्तन भएन । चन्द्रपुर नगरपालिका वाड नं २ हिलेखोला निवासी जिम्बा शुक्रबार विधिवत रुपमा नेकपा एमालेमा प्रवेश गरेका छन् । ‘देश बनाउने अभियानमा १० बर्ष शसस्त्र युद्ध लडियो तर अहिले आएर युद्ध नलडेकाहरुको पार्टीमा हालीमुहाली भएको देख्दा दिक्क लाग्यो’, उनले भने ।

अब देश बनाउने अभियान नेकपा एमालेमा मात्रै देखेकाले एमाले प्रवेश गरेको उनले बताए । माओवादी नेतृत्वले मूल मुद्दा बिर्सिसकेको उनले बताए । जिम्बाले युद्धको बेला जुडिबेला तथा चन्द्रनिगाहपुरको जन सरकार प्रमुखको समेत जिम्मेबारी पुरा गरेका थिए । जिम्बाले अब देशमा एमालेको कुनै बिकल्प नदेखेको पनि बताए ।

उनी जुडिबेला तत्कालीन उच्च माबिका संस्थापक अध्यक्ष,महादेब स्थान सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष लगायतको भुमिका निर्वाह गरिसकेका छन् । नेकपा माओबादीको जिल्ला सदस्य समेत भइसकेका जिम्बासहित ५० जना बढी हिलेखोला टोलका नागरिक एमालेमा प्रवेश गरेका हुन् ।