काठमाडौँ,२७ चैत । केन्द्रमा गठबन्धन टिकाउन लागिपरेका प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाकै गृह क्षेत्र सुदूरपश्चिममा सत्ता गठबन्धन भताभुंग भएको छ ।
जनता समाजवादी पार्टी (जसपा) ले गठबन्धनबाट बाहिरिने निर्णय गरेको छ भने देउवाका विश्वासपात्रहरु नै गठबन्धन खल्बल्याउन लागिपरेका छन् । यसले पुष्पकमल दाहाल र माधव नेपाललाई मात्र होइन, कांग्रेस नेतृत्वलाई समेत नराम्रोसँग झस्काएको छ ।
गठबन्धका दलहरुबीच भएको सहमतिविपरीत नेपाली कांग्रेसलाई मात्रै सरकारमा सहभागी गराएर आफ्नो अपमान गरेको भन्दै जसपा गठबन्धनबाट बाहिरिएको हो । शनिबार धनगढीमा पत्रकार सम्मेलन गरी जसपाले गठबन्धन तोडेको घोषणा गरेको हो ।
केन्द्रबाट पाँच दलीय गठबन्धन प्रदेश तथा स्थानीय स्तरमा पनि विस्तार गर्दै अगाडि बढ्ने निर्देशन दिए पनि जसपालाई बेवास्ता गर्दै अन्य सहयात्री दल अगाडि बढेपछि गठबन्धनबाट बाहिरिएको जसपा सुदूरपश्चिमका अध्यक्ष कृष्णकुमार चौधरीले बताए । उनले चुनावमा पनि कुनै गठबन्धन नहुने बताए । सुदूरपश्चिम जसपाको बलियो प्रभाव क्षेत्र हो ।
सुदूरपश्चिमकै कञ्चनपुर लगायत विभिन्न जिल्लामा कांग्रेसका स्थानीय समितिले स्थानीय चुनावमा गठबन्धन नगरी एक्लै चुनाव लड्ने घोषणा गरेका छन् । कञ्चनपुरको सुनवर्सी, भीमदत्तनगर र बेलौरी नगरपालिकामा त अरु दललाई एउटा पनि सिट नछाड्ने निर्णय कांग्रेसले गरेको छ ।
कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखक अनि एनपी साउदको प्रभाव क्षेत्र मानिन्छ कञ्चनुपर । अनि यी दुवै नेता पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वास पात्र पनि हुन् । तर आफ्नो प्रदेश अनि केन्द्रीय समितिमा आफूलाई साथ दिने सहयात्री नेताको जिल्लाबाटै गठबन्धनको मर्मविपरीतका निर्णय आउन थालेपछि प्रधानमन्त्री देउवा केही तनावमा देखिन्छन् ।
यही कारण शुक्रबारको सत्ता गठबन्धनको बैठकमा सुदूरपश्चिमको विषयले विशेष महत्त्व पायो । त्यस्तै अरु जिल्लाका स्थानीय समिति पनि गठबन्धनको विरुद्धमा देखिएका छन् । चितवन भरतपुर महानगरको नेतृत्व यसपाली माओवादीलई नछाडी आफूले पाउनुपर्नेमा कांग्रेस एक ढिक्का छ ।
अनि पार्टीमा गठबन्धनको विपक्षमा खरो उत्रिएका नेता शेखर कोइरालाको जिल्ला मोरङमा कांग्रेसबाहेकका दल गठबन्धनका लागि छलफलमा लागेपछि बालुवाटारमा थप कम्पन उत्पन्न भएको छ । केन्द्रको सहमतिविपरीतका निर्णय आउन थालेपछि केन्द्रबाटै लगाम कस्नुपर्ने सोचमा नेताहरु पुगेका छन् ।
नेकपा फुटेर बनेका दुई दलकै सहयोगमा अप्रत्यासित रुपमा सत्तारोहण गरेका कांग्रेस सभापति देउवा र कुनै महत्त्वपूर्ण पदमा जाने आकांक्षा बोकेका वरिष्ठ नेता पौडेल दुवै देशव्यापी गठबन्धन हुनुपर्ने पक्षमा छन् ।
पौडेल यसअघिको चुनावमा तनहुँबाट पराजित भएकाले यसपालि माओवादी र एकीकृत समाजवादीको मतले जित्ने लोभका कारण गठबन्धनको पक्षमा उभिएका छन् भने देउवा आफ्नी पत्नी आरजु राणालाई भावी प्रधानमन्त्रीको योग्यता पुर्याउन कैलालीबाट जिताउनैपर्ने बाध्यतामा छन् । यसका लागि कांग्रेसको केन्द्रीय नेतृत्व अन्य दललाई जुनसुकै र जति सिट पनि छाडिदिन तयार छ । आवश्यक परे केन्द्रबाटै कडा निर्देशन जारी गर्नुपर्नेसम्मको छलफल उनीहरुले गरिरहेका छन् ।
सहयात्री कम्युनिष्ट घटकका कारण अप्रत्यासित रुपमा सत्तारोहण गरेका कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा चुनावी तालमेलका विषयमा प्रखर देखिन्छन् ।
उनले एमालेलाई कमजोर पार्न र कम्युनिष्ट मिल्न नदिन यो आवश्यक भएको बताउँदै आएका छन् । बाहिर जे भनिए पनि अन्तर्यमा भने आफ्नो र आफ्नाहरुको सुरक्षाका लागि कांग्रेस नेतृत्वले यो नीति लिएको प्रस्टै देखिन्छ । तर कतिपय स्थानीय नेतृत्वबाट गठबन्धनको मर्मविपरीतका अभिव्यक्ति आएपछि देउवा र पौडेललाई सकस परेको छ ।



















