इटहरी,२८ चैत । नेपाली कांग्रेस इटहरी नगरसमितिले इटहरी उपमहानगरको मेयर र उपमेयरमा गठबन्धन नगर्ने दावी गरेको छ । कांग्रेसले मेयर र उपमेयरमा नेपाली कांग्रेस एक्लैले जित्ने भएकाले गठबन्धनलाई वडामा मात्र सिमित गर्ने रणनिति अघि सारेको काग्रेसले बताएको छ ।
गठबन्धनमा रहेका पार्टीलाई आफ्नो पार्टीको धारणा बताउनु अघि बसेको पार्टी नगरकमिटिको बैठकले गठबन्धनलाई स्वीकार गरेरै जाने तर मेयर र उपमेयरमा आफुहरुको अठान कायम राख्ने निष्कर्ष निकालेका छन् ।
पार्टीमा मेयरका लागि दश जनाले दावी प्रगरेका छन् । मेयरको दावी गर्नेमा अघिल्लो स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धी बनेका नेता रोहित प्रसाई सहित पार्टीका नगर सभापति हेमकर्ण पौडेल, उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिम पौडेल,विकाश केसी, सूर्य राई, रामरोहन चौधरी, नागेशचन्द्र राई, विष्णु बहादुर डाँगी र कल्पना चौधरी रहेका छन् । उनिहरुले आफुले पार्टीमा गरेको योगदान देखाउँदै जित्ने आधार सहित दावी प्रस्तुत गरेका हुन् ।
त्यसैगरी उपमेयरको आकांक्षीमा विमला ढकाल, उर्मिला चौधरी, बबिता चौधरी, निर्मला चौधरी, गीता श्रेष्ठ, कौशीला सुनुवार चौधरी ,सुशीला लेखी, सुशीला चौधरी, रुपा कार्की, मेनुका गिरी र शिला गजमेरले आफ्नो दावी दिएका छन् । उपमेयरको दावी गर्ने मध्ये विमला ढकाल अघिल्लो स्थानीय निर्वाचनमा समेत प्रतिस्पर्धा गरीसकेकी छन् भने बाँकी नयाँ अनुहार छन् ।



















