काठमाडौं,१ बैशाख । मुलुकको सवैभन्दा ठूलो दल नेकपा (एमाले) को संगठित सदस्य संख्या ११ लाख नाघेको छ । एमाले केन्द्रीय कार्यालयका अनुसार २०७८ चैत मसान्तसम्ममा एमालेको संगठित सदस्यको संख्या ११ लाख नाघेको हो ।
एमालेका अनुसार २०७८ चैत मसान्तसम्ममा संगठित सदस्य ११ लाख ३ हजार ७ सय ४३ जना पुगेका छन । पछिल्लो समय नेकपा एमालेमा प्रवेश गर्ने नेतादेखि कार्यकर्ताहरुको संख्या जोडदा अझै बढने एमाले केन्द्रीय प्रचार तथा प्रकाशन बिभागका उपप्रमुख बिष्णु रिजालले जानकारी दिनुभयो ।
चुनाव नजिकिएसँगै कांग्रेस, माओवादी, जसपा, लोसपालगायतका पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नेहरुको संख्या जोडदा १३ लाख नाघ्ने अनुमान गरिएको छ । तल्लो तहबाटै साङ्गठनिक संरचना बलियो बनाउने उद्देश्यका साथ एमालेले सङ्गठन विस्तारलाई तीव्रता दिएको छ ।
एमालेको १०औँ महाधिवेशन सम्पन्न हुने बेला मंसिरमा सङ्गठित सदस्य आठ लाख ५५ हजार रहेको थियो । यसबीचमा २ लाख ५० हजार भन्दा बढी सदस्य थपिएका छन । नेकपा एमालेमा सङ्गठित सदस्यको सङ्ख्या आठ लाख ५५ हजारभन्दा बढी छ । त्यसमा पनि ४० वर्षमुनिका युवाको प्रतिनिधित्व अत्यधिक छ । झन्डै ५० प्रतिशत युवा सङ्गठित सदस्य रहेका छन ।
एमालेको पछिपछि कांग्रेस
एमालेपछि दोस्रो ठूलो दल नेपाली कांग्रेसको क्रियाशील सदस्यको सङ्ख्या आठ लाख ७० हजार रहेको छ । काँग्रेसले क्रियाशील सदस्यहरूको सूची पार्टीको आधिकारिक वेबसाइटमै राखेको छ । कांग्रेस महामन्त्री बिश्वप्रकाश शर्माका अनुसार, आठ लाख ४० हजार १०६ क्रियाशील सदस्यको नामावली वेबसाइटमा राखिएको छ । बाँकी क्रियाशील सदस्यको सूची वेबसाइटमा अध्यावधिक गर्ने कार्य चलिरहेको छ ।
कांग्रेसका अनुसार क्रियाशील सदस्यहरूमा १६ देखि २५ वर्ष उमेर समूहका ५ प्रतिशत र २६ देखि ४० वर्षसम्म उमेर समूहका झन्डै ३० प्रतिशत क्रियाशील सदस्य छन् । यस्तै माओवादी केन्द्रले पनिसङ्गठित सदस्य सात लाख ५० हजार पुगेको बताएको छ । तर एमाले र कांग्रेसले जसरी वेभसाइटमा राखेको छैन ।



















