काठमाडाैं,२ वैशाख । नेकपा एमालेले आन्तरिक मतदानबाट मेयर र उपमेयरको उम्मेदवार टुंगाे लगाउने भएकाे छ । नेकपा एमाले पोखरा महानगर कमिटीले शुक्रबार आन्तरिक मतदानबाट मेयर र उपमेयरको उम्मेदवार टुंगाे लगाउन लागेकाे हाे । सहमति नभएपछि शुक्रबार मतदानको तयारी गरिएको हो । मनोनयन समेत शुक्रबार नै हुनेछ ।
सचिवालय बैठकले अधिवक्ताहरू कमल अर्याल, जुना गुरुङ, भगवती पहारी र यामबहादुर खत्री सम्मिलित निर्वाचन मण्डल गठन गरेको छ । निर्वाचन मण्डलले निर्वाचनका लागि मतदाता नामावली प्रकाशन गरिसकेको छ । आज बिहान मनोनयनको कार्यक्रम छ । यसअघि मंगलबार आकांक्षीको नाम टिपिए पनि पुनः नयाँ प्रक्रियाबाट मनोनयन गर्न लागिएको हो ।

मेयरमा प्रदेश सभा सदस्य कृष्णबहादुर थापा र राजीव पहारीसहित वडाध्यक्ष लेखबहादुर तामाङ (दर्शन लामा), व्यवसायी पुष्पज्योती ढुंगाना, पुष्पराज अधिकारी, महानगरका पूर्व अध्यक्ष दीपक पौडेल, बालासिंह काउचा मगर, सावित्री भण्डारी, मीनाकुमारी गुरुङ, भीमबहादुर कार्की, रश्मी आचार्य र प्राडा विश्वकल्याण पराजुलीले आकांक्षा देखाउनुभएकाे छ ।
उपमेयरमा एमाले कास्कीका उपाध्यक्ष तेजनारायण अधिकारी, सचिव बैनबहादुर अधिकारी क्षेत्री, पत्रकार सुष्मा पौडेल, वडाध्यक्ष शोभामोहन पौडेल र जीवन आचार्य, बामदेव ढुंगाना, टिकाराम पंगेनी, व्यवसायी संजीव बहादुर कोइराला, देवका पहारी (त्रिपाठी), बलराम गायक (गन्दर्भ) र हरिमाया गुरुङले नाम दर्ता गराउनुभएकाे छ ।

मतदानबाट मेयरमा ३ र उपमेयरमा ३ जनाको नाम सिफारिस हुनेछ । दुबै पदमा एक महिला र दुई पुरुषको नाम सिफारिस गरिने महानगर कमिटीले जनाएको छ । मेयर र उपमेयरको आन्तरिक चुनावमा १ सय १० जनाले मतदान गर्ने छन् । आकांक्षीहरूले पुनः मनोनयन गर्नुपर्ने भएपछि पहिले नाम टिपाएका भन्दा बाहिरकाले समेत मनोनयन दर्ता गर्न पाउने छन् ।



















