बिराटचोक,२ वैशाख । मोरङको सुन्दरहरैचामा माओवादी केन्द्रले एमालेसंग तालमेल हुनसक्ने सम्भावना बढेको बताएको छ । नेपाली कांग्रेसले तालमेलको लागी कुनै ठोस निर्णय निकाल्न नसकेपछी एमाले संग तालमेलको सम्भावना बढेको हो ।

केन्द्रमा सत्ता गठबन्धनको परीबन्दको कारणले मात्र कांग्रेससंग मिलेर जान बाध्य भएको र एमाले संग तालमेल गरेर जाने कुरामा छलफल भैरहेको माओवादी केन्द्र सुन्दरहरैचाका एक नेताले बताए । वैशाख ५ गते भित्र उम्मेद्वार चयन गरीसक्नु पर्ने तर कांग्रेसले गठबन्धन गर्ने कुरामा मौन रहेको बताए । 

कांग्रेस संग तालमेल गर्नु भन्दा एमाले संग तालमेल गरेर चुनावमा जान पाए राम्रो हुने माओवादी केन्द्र सुन्दरहरैचाका सचिव रोहित चौधरीले बताए । एमाले पनी कम्युनिष्ट पार्टी भएकोले सम्बन्ध राम्रो नै भएको सचिव चौधरीले बताए । सुन्दरहरैचाको मेयर माओवादीलाई नदिए गठबन्धन नगर्ने भन्ने कुरा हल्ला मात्र भएको र त्यसमा कुनै सत्यता नरहेको नेता चौधरीले बताए ।

त्यसैगरी नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्व मन्त्री हिक्मतकुमार कार्कीले एमाले र माओवादी केन्द्रवीच स्थानीय तहको निर्वाचनमा तालमेल हुने सम्भावना रहेको बताएका छन ।

विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा उनले एमालेले स्थानीय तहको जिम्मेवारी स्थानीय तहलाई नै दिएको हुँदा माओवादीसँग वडा एवं पालिकामास्तरमा तालमेलको हुनसक्ने सम्भावना रहेको जानकारी दिए ।

पूर्वमन्त्री कार्कीले एमालेले वैशाख ९ गतेभित्र उम्मेद्वारको नामको अन्तिम नाम टुङ्गो लगाउने बताउँदै राप्रपा नेपालसँगको तालमेललाई स्वभाविक रुपमा लिनुपर्ने धारणा राखे ।

उनले प्रदेश सरकारले पूर्णरुपमा काम गर्न नसकेको आरोप लगाउँदै जनतामा प्रदेश संरचनाबारे जुन नकारात्मक धारणा थियो त्यसलाई बल पुग्ने गरि काम भैरहेको आरोप लगाए ।

स्थायी कमिटी सदस्य कार्कीले प्रदेशको नामाकरण गर्ने प्रमुख जिम्मेवारी सरकारको हो भन्दै यस सम्वन्धमा एमाले आवश्यक छलफल गर्न तयार रहेको विचार राखे । उनले पालिकाको निर्वाचनमा एमाले अत्याधिक स्थानमा विजयी भै पहिलो हुने दावी गरे ।