काठमाडौं,३ वैशाख । केन्द्रमा बाँचे पनि सँगै मरे पनि सँगै भनेर बाचा गरेका सत्ता गठबन्धनको बन्धन धमाधम टुट्दै गएको छ । प्युठानको नौबहिनी गाउँपालिकामा गठबन्धनका दलले राष्ट्रिय जनमोर्चालाई एकल्याएका छन् । राष्ट्रिय जनमोर्चा नौबहिनीमा एक्लो बनेको छ ।
सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी बिच मिलेर चुनावमा जाने सहमति भएको छ । गठबन्धनका दलले जनमोर्चालाई बैठकमा नै समावेश नगराए एकल्याएका हुन् ।
गठबन्धनको बैठकमा जनमोर्चालाई पनि बोलाएका भए पनि कांग्रेस र माओवादी मात्र छुट्टै बैठक बस्ने भनेर जनमोर्चालाई बैठकबाट बाहिर निकालेका थिए । त्यस पछि राष्ट्रिय जनमोर्चाका प्रतिनिधि नोट अफ डिसेन्ट लेखेर बैठकबाट बाहिरिएका थिए । जनमोर्चाका प्रतिनिधि बाहिरिएपछि तीन दल बसेर पदको भागबण्डा गरेका थिए ।
तीन दलको बैठकले गाउँपालिका अध्यक्ष नेपाली कांग्रेसलाई दिएको छ भने उपाध्यक्षमा घनबहादुर बुढालाई उम्मेदवार बनाउने सहमति भएको छ । उहाँहरू दुवै जना बहालवाला अध्यक्ष र उपाध्यक्ष हो ।
बैठकमा माओवादी र कांग्रेसलाई तीन/तीन वडा र माधव नेपालको समाजवादीलाई एउटा वडा दिने सहमति भएको छ । एउटा वडा भने भाग लगाउन बाँकी रहेको छ ।
२०७४ सालको स्थानीय निर्वाचनमा पनि नौaहिनीमा कांग्रेस र माओवादीले चुनावी तालमेल गरेका थिए । त्यति बेला राष्ट्रिय जनमोर्चा र नेकपा एमालेले तालमेल गरेका थिए ।



















