सुर्खेत, ४ बैशाख । सुर्खेतको घुर्भाकोट नगरपालिका–८ मा २५ घरधुरी गरि ५० जनाभन्दा बढिले आज नेपाली काङ्ग्रेस परित्याग गरि एमाले प्रवेश गरेका छन् । वडा न. ८ ले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रममा खिम बहादुर विकको नेतृत्वमा ५० जनाभन्दा बढिले पार्टी प्रवेश गरेका हुन् ।

नेपाली काङ्ग्रेस क्षेत्र न. १ का प्रभावसाली नेता पुर्ण बहादुर खड्काको पकेट क्षेत्र मानिने वडा न. ८ का धेरै भन्दा धेरै नेता कार्यकर्ताहरुले नेकपा एमालेले रोजेका हुन् । निर्वाचन नजिकिदै गर्दा यो पार्टी प्रवेशले काङ्ग्रेस नेता पुर्ण बहादुर खड्कालाई ठुलो झट्का लागेको छ । मेहलकुनाका खिम बहादुर विक नेपाली काङ्ग्रेसका बलिया खम्बा हुन ।

वडा न.८ मा उहाँकै समर्थन र सहकार्यमा अहिलेसम्म नेपाली काङ्ग्रेस अगाडि बढिरहेको थियो । एमाले प्रवेश गरेलगत्तै गुर्भाकोटमा नेपाली काङ्ग्रेसमा ठुलो प्रभाव पर्ने निश्चित देखिएको छ । पार्टी प्रवेश गर्दै खिम बहादुर विकले नेपाली काङ्ग्रेसले व्यक्तिगत स्वार्थ केन्द्रित राजनीति गरेको भन्दै काङ्ग्रेसको औचित्य सकिएकोले आफूले नेकपा एमाले रोजेको बताउनुभयो ।

अहिलेको बर्तमान परिस्थितिमा नेकपा एमाले राष्ट्रियता र जनताको पक्षमा निरन्तर आवाज उठाउने एक मात्र गौरवमय पार्टी भएकोले एमालेको विकल्प काङ्ग्रेस लगायत अन्य राजनीतिक दल हुन नसक्ने दावि समेत गर्नुभयो । कर्णाली प्रदेशका प्रभावसाली नेता चुडामणि शर्मालगायत गुर्भाकोटका पार्टीका शिर्ष नेताहरुको बिशेष उपस्तिथिमा उक्त पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।