काठमाडौं,५ बैशाख । नेकपा एमालेकाे सचिवायल बैठक आज बस्दै छ । आज साँझ ६ बजे बस्नेगरी सचिवालय बैठक बाेलाइएकाे एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीले जानकारी दिनुभयाे । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्ने बैठक स्थानीय तह चुनावका विषयमा केन्द्रित हुनेछ ।

स्थानीय तह चुनावका लागि अहिलेसम्म भइरहेकाे तयारी, उम्मेदवार सिफारिसकाे अवस्था, चुनावी घाेषणापत्र लगायत विषयमा बैठकमा छलफल हुनेछ । एमालेले पार्टी स्थापना दिवसकाे अवसर पारेर वैशाख ९ गते स्थानीय चुनावकाे चुनावी घाेषणापत्र जारी गर्ने बताइसकेकाे छ । साेही दिन प्रतिबद्धतापत्र पनि सार्वजनिक गर्ने एमालेकाे तयारी छ ।

सचिवालय बैठक अघि केन्द्रीय कार्यालय बैठक बस्नेछ । साेमबार बिहान ११ बजे बस्ने बैठकले सचिवालय बैठकका एजेण्डा तय गर्नेछ ।