काठमाडाैं,६ बैशाख । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले जयसिंह धामी प्रकरणबारे भारतसँग कुरा उठाउनुभएकाे छ । भारतकाे उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीसँग देहरादुनमा भएकाे भेटवार्तामा नेता बस्नेतले नेपालका जयसिंह धामीकाे मृत्यु प्रकरणबाट कुरा उठाउनुभएकाे हाे ।
०७८ साउन १५ गते भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काटिदिँदा दार्चुलाका जयसिंह धामी महाकाली नदीमा वेपत्ता भएका थिए । मुख्यमन्त्रीका स्वकीय सचिव भुवन तिवारीका अनुसार नेता बस्नेतले साेही विषयमा उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंहमार्फत भारतकाे ध्यानाकर्षण गराउनुभएकाे हाे ।
जयसिंह धामी प्रकरणबारे छानबिन गर्न भन्दै शेरबहादुर देउवा नेतृत्वकाे सरकारले छानबिन समिति बनाएकाे थियाे । एसएसबीले तुइन काटिदिँदा जयसिंह नदीमा खसेकाे निष्कर्ष छानबिन समितिले निकालेकाे थियाे । तर देउवा सरकारले यस विषयमा भारतसँग औपचारिक कुरा नै गरेन । याे मुद्दामा भारतसँग नबाेलेकाे भन्दै गठबन्धन सरकारकाे तीब्र आलाेचना भएकाे छ ।
पूर्व उद्याेगमन्त्री समेत रहनुभएका नेता बस्नेत र उत्तराखण्डका मुख्यमन्त्रीबीच नेपाल र उत्तराखण्ड तथा विशेषगरी सुदूरपश्चिम क्षेत्रको हितका विषय छलफल भएकाे थियाे । दुई देशका जनताबीच देखिएको पारवहन, यातायात समस्या र सिँचाइको समस्याबारे पनि उहाँहरुबीच छलफल भएकाे थियाे ।
नेता बस्नेतसँगकाे भेटमा मुख्यमन्त्री पुष्करसिंहले पशुपतिनाथ र केदारनाथको शिर डोलेश्वर महादेवको दर्शन गर्न नेपाल आउन आफू इच्छुक रहेकाे समेत सुनाउनुभएकाे थियाे ।




















