काठमाडाैं,६ बैशाख । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनको भागबण्डामा आफूहरुलाई अपमान गर्न खोजिएको भन्दै कुनै पनि पक्षबाट हुने अपमान सैह्य नहुने बताएका छन् ।
नेकपा गौरवशालीसँग पार्टी एकता घोषणासभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूहरु अपमान सहन नसकेर विद्रोह गरेका शक्ति भएकाले आफूहरुको शक्तिलाई कम नआँक्न चेतावनी दिए ।
नेपालले भने- हामी अपमान सहन जन्मिएका होइनौं,अपमानका विरुद्ध विद्रोह गरेका शक्ति हौं । हामी हाम्रो शक्तिको अति मुल्यांकन गर्दैनौं तर अवमूल्यन गर्न पनि पाइँदैन ।
नेपालले सात महिनामै नेकपा एसले मेची देखि महाकालीसम्म जनलहर सिर्जना गरेको बताए । उनले सत्ता गठबन्धनमा चुनावी तालमेल हुने भन्दै भागबण्डा हैसियत अनुसारनै हुने बताए ।



















