सुन्दरहरैंचा,२० बैशाख । यस पटकको स्थानीय तहको निर्वाचनमा सुन्दरहरैंचामा लालझण्डा फहराउने निश्चित छ । नेपाली कांग्रेससँग २ वटा कम्युनिष्ट पार्टीले गठबन्धन गरे पनि गठबन्धनभित्रैका कम्युनिष्ट पार्टीले नेपाली कांग्रेसलाई मत नदिने भएका छन् ।

नेपाली कांग्रेससँग गठबन्धन गर्ने भनेर नेकपा एकीकृत समाजवादी र नेपाल कम्युनिष्ट पार्टीले मेयर पदमा उम्मेद्वारी नै दिएका छैनन् । उता, नेपाली कांग्रेसले माओवादी केन्द्रलाई पनि काखी च्यापेपछि अहिले एकीकृत समाजवादी घरको न घाटको भएको छ । एकीकृत समाजवादीलाई नेपाली कांग्रेसले गन्दै नगनेको हुनाले रुष्ट बनेको उसले मेयरमा केदार गुरागाईँलाई सघाउने निश्चित छ । सार्वजनिक रुपमा एकीकृत समाजवादीले केही नभने पनि उसको मनशाय मेयर पदमा नेपाली कांग्रेसलाई भन्दा पनि एमालेलाई नै मत दिनुपर्छ भन्ने रहेको छ । कांग्रेसले ५ वर्ष नगरको नेतृत्व गरिसकेको हुनाले आफूसँग सिद्धान्त मिल्ने एमालेलाई नै उसले समर्थन गर्ने निश्चित छ । उता, नेकपा माओवादी केन्द्र पनि कांग्रेसले आफूलाई धोका दिने हो कि भनेर डराइरहेको छ । कांग्रेसले मेयरमा जित्ने र उपमेयरमा एमालेलाई वा स्वतन्त्र उम्मेद्वार कमला अधिकारीलाई मत दिने रणनीति लिएको छ भन्ने जब माओवादी नेतृत्वले बुझ्छ त्यसपछि माओवादी केन्द्रको मत पनि मेयरमा केदारप्रसाद गुरागाईँले पाउने निश्चित छ ।

कांग्रेस स्रोतका अनुसार मेयर उम्मेद्वार ढकाल आफू अनुकूलको उपमेयर चाहन्छन् । त्यस्तो उम्मेद्वार भनेको उनको नजरमा एमालेकी अकली चौधरी वा नेपाली कांग्रेसकी बागी उम्मेद्वार कमला अधिकारी हुन सक्छिन् । माओवादीका उम्मेद्वार नवराज चापागाईलाई कुनै पनि हालतमा जित्न नदिने गरी कांग्रेस भित्रभित्रै लागेको छ भन्ने थाहा पाएपछि माओवादी केन्द्रले पनि मेयर पदमा एमालेलाई सघाउने नीति लिन सक्छ । किनभने माओवादीको सिद्धान्त पनि कांग्रेससँग भन्दा एमालेसँग बढी मिल्छ । यस्तो अवस्थामा एमाले, एकीकृत समाजवादी र माओवादी केन्द्र ३ वटा पार्टीको अत्यधिक मत पाएर केदार गुरागाईले जित्ने सम्भावना धेरै छ ।

त्यतिमात्रै होइन, भूगोल नमिलाई उम्मेद्वारी दिएको भनेर गोठगाउँभन्दा पश्चिमका कांग्रेस कार्यकर्ता कांग्रेसका उम्मेद्वार ढकालसँग रुष्ट छन् । उनीहरुको चाहना नेपाली कांग्रेसका नगर सभापति भक्तिप्रसाद सिटौला या क्षेत्रीय सभापति देवराज तामाङले उम्मेद्वारी पाऊन् भन्ने थियो । त्यसरी ढकालसँग रुष्ट भएको कांग्रेसको मत पनि एमालेका गुरागाईँलाई आउने सम्भावना हुन्छ । यदि त्यस्ता मतदाताले गुरागाईँलाई मत दिए भने गुरागाईँको मत अझै बढ्नेछ । कांग्रेसको रुष्ट समूहका मतदाताले अन्य पदमा गठबन्धनका उम्मेद्वारलाई मत दिएर मेयर पदमा भने कसैलाई पनि मत दिएनन् (नो भोट) भयो भने पनि कांग्रेस उम्मेद्वार ढकालको मत घट्नेछ जसले अन्ततः गुरागाईँलाई नै फाइदा हुनेछ ।

यी सबै तथ्यलाई केलाउँदा मेयर पदमा नेपाली कांग्रेसका उम्मेद्वार ढकालले सुन्दरहरैंचाको मेयरमा दोहोरिन गरेको प्रयास विफल हुनेछ । कांग्रेसभित्रको र गठबन्धनभित्रको राजनीतिक उतारचढावलाई गहिरो ढङ्गले अध्ययन गरेर नेकपा एमाले अघि बढेमा सुन्दरहरैंचाको नेतृत्व एमालेको हातमा आउने त छँदैछ, सुन्दरहरैंचामा गठबन्धका उम्मेद्वारलाई क्लीन स्वीप नै गर्न पनि सकिने सम्भावना पनि उत्तिकै छ ।