विराटनगर,२३ बैशाख । मोरङको बेलबारी नगरपालिकामा मेयरका उम्मेदवारको गाडीमा आगजनी गरिएको छ ।
मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालका अनुसार राप्रपा (राष्ट्रिय प्रजातन्त्र पार्टी)बाट मेयरको उम्मेदवार रहेका खेमप्रसाद गौतमले घरमै पार्किङ गरेर राखेको बा १२ च ९३८४ नम्बरको कारमा शुक्रबार बिहानका राति आगजनी गरिएको हो । बेलबारी नगरपालिका–२ घर भएका गौतमले सामाजिक अभियन्ताको छवि बनाएका छन् । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मेयरमा उम्मेदवारी दिएका उनी होटल व्यवसायी पनि हुन् ।
प्रहरीका अनुसार बिहानका राति २ बजेतिर घटनाको जानकारी आएको थियो । तत्काल घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक खगेन्द्र धमला नेतृत्वको टोलीले घटनामा संलग्न भएको आरोपमा एक जना युवालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ का अन्दाजी २८ वर्षीय सुवास पाण्डे रहेका छन् । प्रहरी नियन्त्रणमा रहेका पाण्डे नेपाली काङ्ग्रेसनिकट रहेको स्थानीयको भनाइ छ । पेट्रोल छर्किएर लाइटरले कारको अगाडि र पछाडि आगो लगाएको सिसी क्यामेरा फुटेजमा देखिएको छ ।
फुटेजमा देखिएका युवासँग हुलिया मिलेपछि पाण्डेलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान थालेको हो । एसपी कोइरालाले अनुसन्धानबाट घटनाको थप विषय खुल्दै जाने बताए ।
मेयरका उम्मेदवार गौतमले पार्टीको झन्डा तथा मेयर र उपमेयरका उम्मेदवारको फोटोसहितको ब्यानर राखेर उक्त कार चुनाव प्रचारप्रसारमा प्रयोग गर्दै आएका थिए । पार्वती पौडेली (विक) राप्रपाबाट बेलबारीमा उपमेयरको उम्मेदवार छिन् ।
मेयरका उम्मेदवार गौतमले घरमा पार्किङ गरेर राखेको कारमा आगो लागेको देखेपछि छिमेकीले खबर गरेको बताए । उनका अनुसार आगजनीबाट अगाडि र पछाडिको केही भागमा क्षति पुगेको छ ।
तत्काल थाहा पाएर आगो नियन्त्रणमा लिन सकिएका कारण थप क्षति हुन नपाएको उनको भनाइ छ । गौतमले राप्रपाप्रतिको जनलहर देखेर आत्तिएकाहरु र प्रतिस्पर्धामा आउन नसक्नेहरुले राजनीतिक चलखेल गरेर सुनियोजित तरिकाले घटना गराएको बताए ।



















