चितवन,२३ बैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलले नै आफ्नो पार्टीको चुनाव चिन्ह रुखमा भोट नहाल्न पार्टी कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
चितवनमा सोमबार आयोजित गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस सभापति देउवा र बरिष्ठ नेता पौडेलले रुख चिन्हमा भोट नहाल्न निर्देशन दिनुभएको हो । कांग्रेसको प्रमुख शत्रु एमाले रहेको किटानी गर्दै बरिष्ठ नेता पौडेलले त रुखमा भोट हाल्नेहरु प्रतिगामी हुने तर्क गर्नुभयो भने देउवाले जहिले पनि रुख–रुख–रुख भनेर नहिडन धम्की दिनुभयो ।
हसिया हथौडामा भोट हाल्नोस, रेणु दाहाललाई कुनै पनि शंका नहुनेगरी सहयोग गर्नु । उहाँले पाँच वर्षमा गरेको विकास हेर्नुस, देउवाले भन्नुभयो, ‘बेरूजु नहुने एक मात्र नगरपालिका भरतपुर हो । अरु नगरपालिकामा धेरै बेरूजु छ ।’
रेणुले भरतपुरमा गरेको विकास देखेर आफू निकै खुसी भएको भन्दै देउवाले कांग्रेसबाट निर्वाचित प्रमुखहरु भन्दा रेनु नै उत्कृष्ट रहेको बताउनु भयो । देउवाले भन्नुभयो, के भाको ? मेरै पार्टीका साथीहरूले बखेडा झिक्नुभएको छ ।’



















