विराटचोक,२७ बैशाख । आसन्न स्थानीय तह निर्वाचनका लागि नेकपा (एमाले)बाट मोरङको सुन्दरहरैँचा नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका केदारप्रसाद गुरागाईं यतिबेला चुनावी प्रचारमा व्यस्त छन् ।
उपमेयर उम्मेदवार अकली चौधरीसहित वडाध्यक्ष र वडा सदस्यका उम्मेदवार लिएर उनले चुनावी प्रचार तीव्र पारेका छन् । गुरागाईं सुन्दरहरैँचाभित्र लोकप्रिय नेता मानिन्छन् । स्थानीय स्तरमा पुर्याएको योगदानदेखि लिएर सामाजिक क्षेत्रमा उनको छवि निक्कै राम्रो छ ।
एमालेको प्रतिस्पर्धामा गठबन्धनबाट मेयरमा नेपाली कांग्रेसका शिवप्रसाद ढकाल र उपमेयरमा माओवादीका नवराज चापागाईंको उम्मेदवारी छ । यसअघि नगरपालिकाको मेयर रहेका ढकालले गरेका कामबाट सुन्दरहरैँचाका बासिन्दा सन्तुष्ट छैनन् ।
नगरको विकासभन्दा पनि आफ्ना कार्यकर्ता आश्रित कार्यक्रम सञ्चालन गरेर ढकाल सुन्दरहरैँचामा आलोचित बनेका हुन् । ढकालले अहिले चुनाव जित्नका लागि विभिन्न प्रपञ्च गरिरहेको बताइन्छ । कांग्रेसले सबैभन्दा धेरै सुन्दरहरैँचामा निर्वाचन आचारसंहिताको उल्लंघन गरेको छ ।
२०७४ सालको निर्वाचनमा पनि ढकाल र गुरागाईंबीचमै मेयरमा प्रतिस्पर्धा भएको थियो । झिनो मतान्तरले ढकाल विजयी बने । यसपटक भने सिंगो सुन्दरहरैँचाको साथ लिएर मेयर जित्दै ढकालसँग बदला लिने तयारीमा गुरागाईं छन् ।
उनले विदेशमा रहेका सुन्दरहरैँचाका मतदातालाई सम्झिएका छन् । चुनावका बेला आफ्ना नगरका केही युवा विदेशमा रहेको स्मरण गर्दै टेलिफोन, सामाजिक सञ्जाल, सञ्चार माध्यमसमेतको प्रयोग गरेर गुरागाईंले उनीहरुलाई सम्झिएका हुन् ।
विदेशमा रहेका युवालाई सम्झिँदै गुरागाईंले भने, ‘मुलुक निर्वाचनको महाअभियानमा रहेका बेला तपाईंहरु विदेशमा हुनुहुन्छ । वैशाख ३० गते हुने निर्वाचनमा एमालेका उम्मेदवारलाई विजयी गराउनलाई परिवारका सदस्यसँग आग्रह गरिदिनुस् । भोट हालेर जिताउनु भयो भने आगामी दिनमा युवाहरुले विदेश जान नपर्ने अवस्थाको सिर्जना गर्छौँ । युवाहरुलाई नगरभित्रै रोगगारीको वातावरण बनाउँछौं ।’
गुरागाईंले आफू यतिबेला सिंगो सुन्दरहरैँचाको साथ खोजिरहेको पनि बताए । भने, ‘छरिएर रहनु भएका सुन्दरहरैँचाका बासिन्दा सम्भव भएसम्म मतदानमा सहभागी बन्नुहोस् । सम्भव नहुनेहरुले परिवार समक्ष मेरो सन्देश पुर्यादिएर समृद्ध नगर बनाउने एमालेको अभियानमा साथ दिनुस् । एमालेको विजय बिना सुन्दरहरैँचाको विकास सम्भव छैन ।’
एमालेलाई विजयी गराउन रोजगारी वा अध्ययनका शीलशीलामा विदेश पुगेकाहरुको भूमिका महत्वपूर्ण हुने गुरागाईंले बताए । भने, ‘विदेशमा रहनु हुने सबै जनामा परिवारका सदस्यलाई आग्रह गरिदिनु हुन अनुरोध गर्दछु । विकासका निम्ति एमालेको जित आवश्यक छ । स्थानीय स्तरमै रोजगारीको सिर्जना गरेर सुन्दरहरैँचालाई आत्मनिर्भर बनाउने अभियान एमालेले चलाइरहेको छ ।’
एमालेप्रति देखिएको जनताको उत्साहलाई गुरागाईंले सम्मान गरेका छन् । ‘एमालेप्रतिको जनलहरले हामीलाई उत्साहित बनाएको छ । म आभार प्रकट गर्न चाहन्छु,’ उनले भने ,‘एमाले विजयी हुँदा नगरको मुहार फेर्ने प्रतिवद्धता दोहोर्याउन चाहन्छु । एमालेका उम्मेदवारलाई जिताउन सबैले आआफ्नो ठाउँबाट भूमिका खेलौं ।’
गुरागाईंले आफूलाई चुनाव जिताएर ऋण लगाउन जनतासँग अपिल पनि गरेका छन् । ‘एमालेका उम्मेदवारलाई जिताउन सबैले भूमिका खेल्नुहोस् । त्यो ऋण वैशाख ३० गतेपछि तिर्दै जाने छु,’ उनले भने, ‘सुन्दरहरैँचालाई सुन्दर नगरमा परिणत गरेर तपाईंहरुले लगायतको गुन ५ वर्षभित्रमा तिरिसक्ने योजना बनाएको छु । स्वदेश तथा विदेशमा रहनुहुने सुन्दरहरैँचा निवासी आमा, बुवा, दाजु, भाइ, दिदी, बहिनी सबैलाई एमालेलाई नगर बनाउने मौका दिनुहुन अनुरोध गर्दछु ।’


