लेटाङ,२७ बैशाख । कृष्णकुमारी निरौला पोखरेल लेटाङबासीका लागि चीरपरिचित नाम हो । पछिल्लो ५ वर्ष लेटाङ नगरपालिकाको उपप्रमुखको रुपमा सफलतापूर्वक जिम्मेवारी पुरा गरिसक्नु भएकी निरौला लेटाङ क्षेत्रकै अगुवा महिला नेतृमा पर्नुहुन्छ । हाल लेटाङ ५ मा पर्ने मजुवामा जन्मिएर लेटाङ नगरपालिका वडा नम्बर ९ जाँतेलाई कर्मथलो बनाइ राजनीति र समाजेवामा सक्रिय रहनु भएकी निरौला हाल नेकपा एमाले मोरङ जिल्ला कमिटी सदस्यको रुपमा रहनु भएको छ । उहाँलाई पार्टीले आगमी बैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा पुनः नगर उपप्रमुख पदका लागि उम्मेदवार सिफारिस गरेपछि यतिबेला चुनावी दौडधुपमा हुनुहुन्छ । चुनाव नजिकिंदै जाँदा अधिकांश लेटाङबासीले उपप्रमुखमा निरौलाको जित सुनिश्चित रहेको बताउने गरेका छन् । यसैसन्दर्भमा हामीले नगरबासीले जीत सुनिश्चित भनिएकी उपप्रमुख पदकी उम्मेदवार निरौलाको जितका आधारहरुको खोजि गरेका छौं ।

 लेटाङकै चेली लेटाङकै बुहारी :

नेकपा एमालेबाट उपप्रमुख पदकी उम्मेदवार रहेकी निरौला हालको लेटाङ नगरपालिका वडा नम्बर ५ मा पर्ने साविक लेटाङ गाविसको मजुवामा जन्मनु भएको हो । हाल लेटाङ नगरपालिका वडा नम्बर ९ साविक जाँते गाविस ९ मा बसोबास गर्दै आउनु भएका सोमनाथ निरौलासँग विवाह बन्धनमा बाँधिएपछि उहाँ २०५० साल यता जाँतेलाई कर्मभूमि बनाएर समाजसेवा र राजनीतिमा सक्रिय हुनुहुन्छ । हाल लेटाङ ८ जाँतेमा रहेको जाँते माविबाट एसएलसी पास गर्नु भएकी निरौलाले २०४६ सालमा अनेरस्ववियुको जाँते मावि प्रारम्भिक कमिटीको कोषाध्यक्ष हुँदै राजनीतिक यात्रा सुरु गर्नु भएको हो । यसरी माइती र घर दुवै लेटाङमै रहेकाले समेत उहाँसँग यस ठाउँका धेरै मानिसहरु परिचित छन् । त्यस कारण समेत निरौलालाई जित्नका लागि सहज रहेको बताइन्छ । अघिल्लो निर्वाचनमा समेत नेकपा एमालेका प्रमुख पदका उम्मेदवार पराजित भइरहँदा निरौला विजयी हुनुमा यो पनि एक कारण हो ।

 उत्तरी मोरङ महिला सरहकारीको सफल संस्थापक :

कृष्णकुमारी निरौलाकै अध्यक्षतामा २०६४ सालमा तत्कालिन जाँतेमा स्थापना गरिएको उत्तरी मोरङ कृषि महिला सहकारी संस्थाले उहाँकै सफल नेतृत्वमा खासगरि महिलाहरुलाई तरकारी खेतिमा जोडेर आर्थिक रुपमा सवल बनाउन भुमिका खेलेको छ । हाल लेटाङ क्षेत्रकै अग्रणि कृषि सहकारीको रुपमा रहेको यो संस्थाको संस्थापक अध्यक्ष रहनु भएकी निरौला लगायतका व्यक्तिहरुको पहलमा महिलाहरुलाई संगठित गरि कृषिमा संलग्न गराउने र आर्थिकरुपमा सवल बनाउने काम गरिएको छ । सुरुमा निकै समस्याग्रस्त अवस्थामा रहेको यस सहकारीलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनासँग जोडेर खासगरि टमाटर ब्लक कार्यक्रम सञ्चालन भएपछि सहकारीको अवस्थामा समेत आमूल परिवर्तन आयो । बचत गर्ने, संगठन विस्तार गर्ने, कृषि सम्बन्धि तालिम सञ्चालन गर्ने, मलविउ ल्याएर शुलभ रुपमा उपलब्ध गराउने लगायतका काममा हाल यो सहकारी कृषशील छ । तरकारी बाली अन्तरगत टमाटरको पकेट कार्यक्रम सञ्चालन भएपछि यस क्षेत्रका धेरै कृषकहरुले व्यवसायीक टमाटर खेति लगाउन थाले । जसका कारण जाँते क्षेत्रबाट मात्र वर्षेनी करोडौंको टमाटर निर्यात हुने गर्दछ । निरौलाकै नेतृत्व रहेको बेला सहकारीले साढे ७ धुर जग्गा खरिद गरि आफ्नै भवन निर्माण गर्न सफल भएको छ । संस्थाले अनुदानमा टनेल, ट्याक्टर, विउ, हजारी लगायतका सहायक सामाग्री वितरण गरेर कृषकहरुलाई सहयोग गर्ने आएकोमा अब टमाटर जोन नै घोषणा गर्ने तयारीमा रहेको अध्यक्ष मथुरा तिम्सिनाले जानकारी दिनुभयो ।

कांग्रेसको मत समेत आउने संभावना :

कृष्णकुमारी निरौलाको माइती पोखरेल हुन् । लेटाङका धेरै पोखरेलहरु नेपाली कांग्रेसको कृयाशील राजनीतिमा छन् । साथै पोखरलेसँग नाता जोडिएका आफन्तहरु पनि धेरै संख्यामा कांग्रेसमा कृयाशील छन् । तसर्थ पनि उनीहरुले आफ्नै चेलीलाई जिताउन भूमिका खेल्ने र कृष्णकुमारीलाई नै भोट हाल्ने अनुमान गरिन्छ । साथै यसपटक गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार उपप्रमुखमा रहेकाले समेत माओवादी मन नपाराउने कांग्रेस समर्थकहरुले समेत निरौलालाई मत दिने अनुमान गर्न सकिन्छ । यस्तै नगर प्रमुखको रुपमा कार्यरत हरेको समयमा सबै दलसँग समान र मिजाशिलो व्यवहारका कारण समेत निरौलाले नरम खाले कांग्रेसी मत तान्ने देखिन्छ ।

जाँते भूगोलको भावना :

नेकपा एमालेले उम्मेदवारी दिइरहँदा साविकको लेटाङ र जाँतेको भूगोललाई समेटेर नगर प्रमुख र उपप्रमुख पदमा उम्मेदवारी दिएको छ । प्रमुख पदमा लेटाङको प्रतिनिधित्व भएको तथा उपप्रमुख पदमा साविक जाँते क्षेत्रको प्रतिनिधित्व भएकाले समेत जाँते क्षेत्रको मत निरौलालाई बढी जाने देखिन्छ । गठबन्धनले दुवै उम्मेदवार लेटाङ क्षेत्रबाट दिएकाले पनि जाँतेको भोट निरौलालाई खनिने अनुमान गर्न सकिन्छ ।

 उपप्रमुख रहँदाको जनसम्पर्क :

अघिल्लो कार्यकाल नेकपा एमालेबाट उपप्रमुखमा कार्यरत रहँदा लेटाङका धेरै ठाउँहरु र त्यहाँका मानिसहरुसँग परिचित भएका कारण, त्यसबेलाको जनसम्पर्कका कारण पनि केही भोट निरौलाको पक्षमा बढ्ने देखिन्छ ।


 विभेद रहित व्यवहार : निर्विवादीत कार्यकाल :

उपप्रमुखको रुपमा कार्यरत रहँदा निरौला राजनीतिक रुपमा पूर्वाग्रह नराख्ने जनप्रतिनिधिको रुपमा चिनिनुहुन्थ्यो । कांग्रेसकै समर्थकहरुले समेत निरौलालाई सहयोगी, सरल र समान व्यवहार गर्ने जनप्रतिनिधि रहेको भन्दै बेला बेला प्रशंशा गर्ने गरेका छन् । साथै उहाँले कार्यकाल भरि उपप्रमुखको रुपमा दिएको जिम्मेवारी सफलतापूर्वक पुरा गर्नुका साथै कुनै विवादमा नमुछिएकाले निर्विवाद र निश्कलंक जनप्रतिनिधिको रुपमा लेटाङबासीले लिने गरेका छन् ।

महिलाको प्रतिनिधित्व :

लेटाङ नगरपालिकामा मुख्य प्रतिस्पर्धा नेकपा एमाले र कांग्रेस–माओवादीको गठबन्धनबीच नै हो । तर गठबन्धनले लेटाङमा प्रमुख र उपप्रमुख दुवै पदमा पुरुष उम्मेदवार उठाएकाले पनि कांग्रेस समर्थक महिलाहरुकै मत कृष्णकुमारीलाई बढी आउने देखिन्छ । नगर प्रमुख र उपप्रमुख मध्ये एकजना अनिवार्य महिला हुनुपर्ने संविधानको भावना विपरित गठबन्धनले दुवै पदमा पुरुष उम्मेदवारलाई उठाएकाले धेरै महिलाहरु असन्तुष्ट छन् । यसरी असन्तुष्ट बनेकाहरुको भोट निरौलालाई आउने देखिन्छ ।

जनजातिको प्रतिनिधित्व :

लेटाङमा गठबन्धनले दुवै उम्मेदवार व्राह्मण क्षेत्री समुदायबाट उठाएकाले जनजाती समुदायको भोट भट्किएर कृष्णकुमारीतर्फ आउने संभावना देखिन्छ । गठबन्धनले प्रमुख उपप्रमुख दुवै उम्मेदवार पुरुष र त्यसमाथि पनि व्राह्मण क्षेत्री समुदायबाटै उठाएकोमा नेकपा एमालेले प्रमुख पदमा जनजाती र उपप्रमुख पदमा व्राह्मण समुदायबाट मिलाएर उठाएकाले एमालेले कांग्रेसको धेरै भोट तान्ने अवस्था देखिन्छ ।

279588514_1429377300832111_4179396101796150467_n