काठमाडौं,११ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाँच पार्टी विरुद्धको एक्लो लडाइँ नेकपा एमालेले जितेको बताउनुभएको छ ।
दाङको तुलसीपुर उपमहानगरपालिकाका नवनिर्वाचित मेयर, उपमेय सहितका जनप्रतिनिधिलाई बधाई दिन बुधबार आयोजना भएको कार्यक्रमका बोल्दै महासचिव पोखरेलले तुलसीपुरमा गठबन्धन विरुद्ध सम्मानजनक रूपमा चुनाव जितेको भन्दै खुसी व्यक्त गर्नुभयो । ‘यस पटकको जित हाम्रो लागि विशेष महत्त्वको जित बनेको छ’, उहाँले भन्नुभयो ।
एमाले बाहेकका सबै शक्ति मिलेर आउँदा पनि एक्लै मुकाबिला गरेर नेकपा एमाले राष्ट्रिय शक्तिको रूपमा स्थापित भएको पोखरेलले बताउनुभयो । ‘नेकपा एमाले मात्रै एउटा यस्तो पार्टी हो, जसले जस्तोसुकै चुनौतीसँग पनि लड्ने सामर्थ्य राख्छ’, उहाँले भन्नुभयो ।
राजनीतिमा जोसँग धन, सम्पत्ति हुन्छ त्यसले मात्र चुनाव जित्न सक्छ भन्ने मान्यतालाई पनि एमालेले तोडिदिएको पोखरेलले बताउनुभयो । ‘राजनीतिको विषय धन हुने र नहुनेको विषय होइन, सही विचारको हो भन्ने कुरा हामीले स्थापित गरेका छौँ’, पोखरेलले भन्नुभयो ।
एमाले र एमाले नेतृत्वका विरुद्ध मोर्चाबन्दीको कोसिस भएको उहाँले बताउनुभयो । एमालेको भविष्यलाई समाप्त गर्ने षडयन्त्र भए पनि त्यसलाई परास्त गर्न सफल भएको उहाँले प्रष्ट पार्नुभयो ।
अहिलेको जनादेशबाट एमालेलाई राष्ट्रिय शक्तिको रूपमा स्थापित गरेको उहाँले बताउनुभयो । स्थानीय तह निर्वाचनबाट एकालेले मुकाबला गर्न सक्ने शक्ति आर्जन गरेको उहाँको भनाई छ । ‘अब एमालेसँग एक्लै मुकाबला गर्न सक्ने सामर्थ्य कसैसँग छैन भन्ने कुरा हामीले प्रमाणित गरेका छौँ’, उहाँले भन्नुभयो ।
उहाँले स्थानीय तहका जनप्रतिनिधिलाई जनताको हितमा काम गर्न आग्रह गर्नुभयो । उत्सव मनाउने भन्दा पनि जनताको काममा लाग्न उहाँले जनप्रतिनिधिलाई सुझाव दिनुभयो ।



















