काठमाडौं,१८ जेठ । प्रतिनिधि सभा सदस्य सुरेन्द्र पाण्डेले सामाजिक सुरक्षा भत्ता जति बढाए पनि वा उमेर समुह जति घटाए पनि त्यसमा एमालेकै दाबी रहने बताउनुभएको छ ।

बुधबार प्रतिनिधि सभा बैठकमा बजेट माथिको छलफलमा भाग लिँदै पाण्डेले सरकारले बृद्ध भत्ता पाउनेको उमेर घटाएर ६८ वर्षमा झारेको भए पनि भत्ता ५ हजार नपुर्‍याएको भन्दै सरकारको आलोचना गर्नुभयो । नेपाली कांग्रेसको घोषणापत्रमा समेत उल्लेख भएको ५ हजार भत्ता पुर्याउने घोषणा गठबन्धन सरकारले पूरा नगरेको उहाँले बताउनुभयो । ‘उमेर घटाउनुस् कि, भत्ता बढाउनुस्, त्यसको जस जनताले एमालेलाई नै दिन्छन्, एमालेलाई नै धन्यवाद दिन्छन्’, उहाँले भन्नुभयो ।

पाण्डेले सरकारको बजेट तथा कार्यक्रमले देशको समस्यासँग मेल नखाएको बताउनुभयो । उहाँले समस्या एकातिर र बजेट अर्कोतिर केन्द्रीत भएको बताउनुभयो ।

पाण्डेले सरकारले जताततै चुनाव नै चुनाव देखेको बताउनुभयो । गएको स्थानीय तह निर्वाचन र आउने निर्वाचनलाई मात्र लक्षित गरी सरकारले बजेट तथा कार्यक्रम ल्याएको उहाँले बताउनुभयो ।

कांग्रेसलाई यो गठबन्धन गलगाडजस्तै घाँडो भएकोले यसलाई समाप्त पार्न छिटो भन्दा छिटो चुनावमा जान खोजेको उहाँले बताउनुभयो । त्यसैले बजेट चुनावमुखी भएको भन्दै उहाँले आलोचना गर्नुभयो ।