काठमाडाैं,१८ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसलाई ठेगान लगाउने चेतावनी दिनुभएकाे छ ।
वैशाख ३० गते सम्पन्न स्थानीय तह चुनावमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिका लागि आयाेजि प्रशिक्षण कार्यक्रमलाई बुधवार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले नेकपा एमालेलाई जस्तै कांग्रेसलाई पनि ठेगान लगाउने चेतावनी दिनुभयाे ।
कांग्रेसमा पनि एमाले जस्तै अहंकार पलाउन लागेकाे भन्दै उहाँले कांग्रेसमा अहंकार पलाए ठेगान लगाइने बताउनुभयाे । विगतमा एमालेसँग राम्रै उद्देश्यले गठबन्धन गरिएपनि एमालेमा अंहकार पलाएकाे भन्दै उहाँले कांग्रेसमा अहंकार पलाउन लागेको बताउनुभयाे । उहाँले भन्नुभयाे - 'हिजाे एमालेलाई गठबन्धन र पार्टी एउटै बनाउँदा राम्राे उद्देश्यले गरिएकाे थियाे,तर त्यसकाे लिडरसिपमा सबै हामी नै हाैं भन्ने अंहकार आयाे,हामी त्यसका विरुद्ध विद्राेह गर्ने ठाउँमा पुगियाे, अहिले कांग्रेसकाे फेरि त्यस्तै हाेला कि भन्ने डर पैदा भएकाे छ,हामीले मेहनत गरेरै प्रधानमन्त्री बनाऔं, अहिले पनि उहाँ भइराख्नुस् भन्नेछ ।'
प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा पनि आफूहरू गठबन्धन गरेर जान चाहेकाे भन्दै प्रचण्डले स्थानीय तह चुनावको नतिजापछि कांग्रेसमा पनि अहंकार पलाएको बताउनुभयाे । उहाँले भन्नुभयाे - 'तर हामी चिन्तित छाैं,फेरि कांग्रेस पनि एमालेजस्तै अंहकार र दम्भ चुलिएर,माओवादी केही हाेइन, स्थानीय चुनावमा पनि धेरैजसाे ठाउँमा ठेगान लगाइयाे अब प्रदेश र संघमा पनि ठेगान लगाउने भन्याे भने, हामीले फेरि एमालेलाई ठेगान लगाएजस्तै कांग्रेसलाई पनि ठेगान लगाउने दिन नआहाेस् ।'
बृहत्तर हितका लागि अझै पनि गठबन्धनको आवश्यक रहेको उहाँकाे भनाइ छ । तर गठबन्धन गर्दा गर्दा माओवादीकाे आफ्नाे पहिचान भने सकिन लागेकाे प्रचण्डले बताउनुभयाे । माओवादी हिजोको जस्तो क्रान्तिकारी नभएको र जनताको सेवक पनि नभएको भान जनतालाई पर्दै गएको प्रचण्डले सुनाउनुभयाे ।



















