काठमाडौं, २८ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो मृर्गौला दोस्रो पटक नेपालमै प्रत्यारोपण गरेको समयमा आइसियूमा हुँदा डाक्टर, नर्सहरूलाई नै गीत गाउन लगाउँने गरेको स्मरण गर्नुभएको छ । आफ्नो होस आएपछिको समयमा २४सै घण्टा सुत्नुपर्ने भएकाले आफूलाई उर्जावान/फूर्तिलो बनाउन उपचारमा संलग्न डाक्टर, नर्सहरूलाई उपचारमा संलग्न हुनुअघि एउटा गीत अनिवार्य सुनाउन लगाउने गरेको बताउनुभयो ।
स्थानीय तह निर्वाचनको अवसरमा नेकपा एमालेको पक्षमा जनमत सिर्जना गर्न योगदान गर्नुहुने कलाकारहरूलाई धन्यवाद ज्ञापन तथा कदर–पत्र वितरण कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । ‘तपाईँहरूको सिर्जनाको के अर्थ हुन्छ ? म अप्रेसन गरेर आइसियूमा बसेको थिए । तर त्यहाँ मैले गाउन जाने पनि नजाने पनि डाक्टर, नर्स र त्यहाँ काम गर्ने सबैले गीत गाउनै पर्ने र सुनाउनै पर्ने भनेर लगाउँथे ।
जाने पनि नजाने पनि डाक्टर नर्सहरूले गीत गाउनुपर्थ्यो । उसो त म थोरै सुत्ने मान्छे, होसमा आएपछि २४सै घण्टा के गरेर बस्नु बेडमा । त्यसैले उपचार गर्नुअघि नै डाक्टर नर्स जो आएपनि एउटा गीत अनिवार्य गाउँनै पर्ने वातावरण बनाएको थिए । त्यहाँ काम गर्ने सफा गर्ने दिदिबहिनीलाई समेत गीत गुनगुनाउन नआएपनि गीत गाउन लगाएँ,’ उहाँले भन्नुभयो ।
अध्यक्ष ओलीले त्यसपछि काममा व्यस्त भए पनि डाक्टर चिकित्सकहरूले आफूलाई जाँच्नुभन्दा पहिले गीत सुनाउने गरेको बताउनुभयो । उहाँले थप्नुभयो,‘उहाँहरू काममा व्यस्त हुनुहुन्थ्यो, तर मैले गीत गाउनै पर्छ भन्थे । डाक्टर जाँच्न आउँनासाथ पहिले एउटा गीत सुनाउनुस् अनि मात्रै जाँच्ने भन्थे । नर्सले कुनै इन्जेक्सन लगाउनु छ भने पहिले गीत भन्नु भन्थे । जाने पनि नजाने पनि डाक्टर नर्सहरूले गीत गाएर सुनाउनुहुन्थ्यो ।’



















