काठमाडाैं,६ असार । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी चुनावमा आफ्नै शक्तिमा लड्न सक्नेगरी तयारी थाल्न पार्टी पंक्तिलाई निर्देशन दिनुभएको छ ।
समाजवादी प्रेस संगठनले आइतबार काठमाडाैंमा आयोजना गरेको सम्पादकहरूसँगको अन्तरक्रियामा बाेल्दै अध्यक्ष नेपालले आफ्नै शक्तिमा लड्न सक्नेगरी चुनावकाे तयारी गर्न उहाँले नेता-कार्यकर्तालाई निर्देशन दिनुभयाे । पार्टीलाई अझ बलियाे बनाउन संगठन विस्तार अभियानलाई तिब्रता दिनुपर्ने उहाँकाे भनाइ छ ।
स्थानीय तह चुनावमा साेचेजस्ताे नतिजा नआएकाे भन्दै उहाँले प्रतिनिधि र प्रदेश सभा चुनावमा त्याे दाेहाेरिन दिन नहुने बताउनुभयाे । गठबन्धनकाे भर नपर्न पनि अध्यक्ष नेपालले पार्टी पंक्तिलाई निर्देशन दिनुभयाे ।
'अब चुनावको तयारीमा जुट्नुपर्छ, मंसिरलाई आधार मान्दा ६ महिनाभित्र नै सम्भवतः चुनाव हुनेछ, स्थानीय चुनावमा हामी गठबन्धनतर्फ बढी आशावादी भएकाे हुनाले सोचेजस्तो परिणाम आएन,त्यसैले हामीले पार्टीपंक्तिलाई भनिरहेका छाैं, गठबन्धनको गीत गाउन बन्द गर्नुस्, आफ्नो शक्ति वृद्धि गर्ने कुरामा जाेड लगाउनुस्,संगठन विस्तारमा गर्ने कुरामा जाेड लगाउनुस्'-उहाँले निर्देशन दिनुभयाे ।
गठबन्धनका कारण महानगरपालिका र नगरपालिकामा जितेपनि गठबन्धनका केही कमीकमजेारी भएका माधवकाे गुनासाे छ । 'स्थानीय तहकाे हामीले समीक्षा गरिरहेका छाैं,गठबन्धनका घटकसँग भएका कतिपय कमीकमजाेरीबारे कुरा भएकाे छ,आज मात्रै प्रधानमन्त्री शेरबहादुर ज्यूसँग कुरा भएकाे छ, यस्ता गल्ती कमजाेरी दाेहाेरिन दिनुहुँदैन भन्ने कुरा भयाे'- नेपालकाे भनाइ छ ।
गठबन्धनमा भर नपर्न निर्देशन दिनुभएका अध्यक्ष नेपालले गठबन्धनलाई जोगाउँदै अघि बढ्नुपर्ने पनि बताउनुभयाे । आगामी चुनावसम्म गठबन्धन कायमै रहने र त्यसपछि पनि गठबन्धनलाई अघि लैजाने विषयमा छलफल भइरहेको भन्दै उहाँले प्रदेश र प्रतिनिधि सभाको चुनावमा गठबन्धनबीच सिट बाँडफाँटमा कठिनाइ नहुने दाबी गर्नुभयाे । आगामी चुनावसम्म गठबन्धन कायमै रहने र त्यसपछि पनि गठबन्धनलाई अघि लैजाने विषयमा छलफल भइरहेको दाबी पनि उहाँले गर्नुभयाे ।
देशमा कुनै हालतमा राजा नआउने दाबी गर्दै नेपालले प्रतिगमन भनेकाे राजा ल्याउनु भएकाे बताउनुभयाे । 'प्रतिगमन भनेको राजा ल्याउने हो, राजालाई ल्याउने षड्यन्त्र भइरहेको छ, त्यो किमार्थ स्वीकार्य छैन ।'
अध्यक्ष नेपालले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) ले अहिले नयाँ तरङ्ग पैदा गरेको भन्दै जनता यसका लागि सचेत रहनुपर्ने बताउनुभयो । उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको हित विपरीत सम्भौता नगर्ने प्रतिबद्धता जनाउनुभएको पनि माधवले बताउनुभयाे ।



















