काठमाडौं,१३ असार । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ६ / ६ महिनामा पार्टी फेर्ने निर्णयमा आपत्ति जनाएका छन्। ‘नेपालमा समाजवाद चुनौती र सम्भावना’ विषयक अन्तरक्रियामा बोल्दै नेता पौडेलले ६/६ महिनामा मन्त्री फेरेर पालो पुर्याउने चरित्र घोर प्रतिक्रियावादी र सामन्तवादी भएको टिप्पणी गरे।
‘हाम्रो आचरण समाजवादी भएको छैन। ए बाबा एउटा पार्टीबाट सरकारमा मन्त्री गएका छन्, चार दिन काम गर्न पाएको छैन हटाउनुपर्ने, फेरि फेरि पालो पुर्याउनुपर्ने, त्यो पनि पार्टी सिस्टम हो ? सबैको पालो पुर्याउनुपर्ने मन्त्री बन्नलाई ? कहाँ त्यस्तो हुन्छ ? सबैलाई पालो पुर्याउने कुरा हुँदैन,’ उनले भने।
मञ्चमा उपस्थित नेकपा एकीकृत समाजवादीका सम्मानित झलनाथ खनालको नामै लिएर नेता पौडेलले समाजवादको नाममा रामकुमारी झाँक्रीलाई रुवाएर मन्त्रालयबाट बिदाई गरेकोमा पनि आपत्ति जनाए।
‘समाजवादको कुरा गरेर, के रामकुमारी झाँक्रीलाई धरधरी रुवाएर समाजवाद आउँछ? समाजवादतिर जाने भनेर के आचरण चरित्र देखाइरहेका छौं? नारा समाजवादको फलाक्ने, काम घोर प्रतिक्रियावादी र समान्तवादी गर्ने?’ उनले प्रश्न गरे, ‘हामी बदलिन जरुरी छ। विरोधाभाषले गर्दा सबैलाई डुबाउँछ। त्यसबाट बच्न आचरण र व्यवहार मिलाएर गरौं। जे भन्छौं त्यो कार्यान्वयन गरौं।’
समाजवादको नारा व्यवहार उतार्न आचरण सुधार्नुपर्ने उनको सुझाव थियो। अन्नपूर्ण पोष्टबाट



















