काठमाडौ,१३असार । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपालमा विकास र समृद्धिका लागि नीतिगत नेतृत्वको आवश्यक भएको बताउनु भएको छ ।

प्रेस चौतारी नेपालले काठमाडौँमा आयोजना गरेको ‘जनताको बहुदलीय जनबाद र अभिव्यक्ति स्वतन्त्रता’ विषयक अन्तरसंवाद कार्यक्रमलाई सम्वोधन गर्दै यस्तो बताउनु भएको हो ।

‘दुनियाँको राजनीतिक इतिहास पढ्दा प्रष्ट हुन्छ दलहरु मिलेर व्यवस्था बदलेका छन् । तर, दलहरु मिलेर राष्ट्र बनाएको कतै पाइदैँन,’ उहाँले भन्नुभयो, ‘हामी नेपालमा विकास र समृद्धिको कुरा गर्छौ भने त्यहाँ नीतिगत नेतृत्वको आवश्यक पर्छ । त्यसैले नेपाललाई विकास र समृछिको बाटोमा हिँडाउने हो भने राजनीतिक ध्रविकरण आवश्यक छ ।’

उहाँले नेपालको राजनीतिमा अहिले दुई कित्तामा बाँडिएको सन्दर्भ पनि प्रस्तुत गर्नुभयो । ‘एउटा बुर्जुवा शक्तिले नेतृत्व गरेको पुँजिवादतर्फको कित्ता र अर्को बामपन्थी शक्तिले नेतृत्व गरेको समाजवादतर्फको कित्ता । अरु सबै विचार र श्रृखला भनेका त्यसैको वरीपरी छन्,’ पोखरेलले भन्नुभयो, ‘फरक विचारबिच धु्रविकरण गर्ने हो भने यी दुई शक्तिबिचको धु्रविकरण ऐतिहासिक आवश्यकता हो । जसले समृद्धिको नेतृत्व गर्न सक्छ ।’

यद्यपि, नेपाली काँग्रेस आफ्नो विचारको आधारमा शक्ति निर्माण गर्ने आत्मविश्वास गुमाइसकेको राजनीतिक दलका रुपमा रहेको भन्दै उहाँले आलोचना गर्नुभयो । ‘ नेपाली काँग्रेस यति हतोत्साही र निरास छ कि ऊ गठबन्धन बाहेकको तरिकाबाट राजनीतिको नेतृत्व गर्न सकिन्न भन्छ,’ महासचिव पोखरेलले भन्नुभयो, ‘तर, गठबन्धनले नीतिगत विचलन पैदा गर्छ । गठबन्धनले राजनीतिक अस्थिरता पैदा गर्छ ।’

उहाँले गठबन्धनले राजनीतिक अवसरवाद पैदा गर्ने र वैदेशिक हस्तक्षेप र चलखेललाई आमन्त्रण गर्ने पनि दाबी गर्नुभयो । ‘जुन राष्ट्रको समृद्धिको वाधक हो । त्यसैले नेपाललाई समृद्धिको बाटोमा अघि बढाउने हो भने नीतिगत नेतृत्वको प्रश्नमा आधारित भएर नीतिगत नेतृत्व निर्माण गर्ने कुरा नेपालको राजनीतिको आजको मिशन बन्नसक्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘नेकपा (एमाले) त्यो मान्यतामा विश्वास गर्छ । हामी जननेता मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवादको मार्गदर्शन सिद्धान्तको आधारमा समाजवादको आधार तयार गर्ने उदेश्यका साथ समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षलाई पूरा गर्नका लागि बलियो राष्ट्रिय पार्टीका रुपमा नेकपा (एमाले)लाई खडा गर्न चाहन्छौँ ।’

उहाँले कुनै दल मिलेर एमालेको त्यो यात्रालाई रोक्ने प्रयास गरे पनि मुलुकको समृद्धिको यात्रा यहि बाटोबाट मात्रै सम्भव भएको प्रष्ट पार्नुभयो । उहाँले कार्यक्रमलाई सम्वोधन गर्दै मदन भण्डारी विद्रोही र बैचारिक नेता भएको बताउनुभयो । उहाँले नेतृत्वको होडवाजीमा नलागी मदन भण्डारीको पहलमा संयुक्त बाममोर्चा गठन गरी कम्युनिष्ट आन्दोलनलाई थप शक्तिशाली बनाएको पनि स्मरण गराउनुभयो ।

त्यसैगरी सुधारिएको पञ्चायतको पक्षमा रहनु भएका गिरिजाप्रसाद कोइरालालाई बहुदली व्यवस्थाको आकाक्षां जनताको आकाक्षां हो भन्दै भण्डारीले भित्री रुपमा विद्रोह गरेको र बहुदलीय व्यवस्था प्राप्त भएको पनि उहाँले स्मरण गराउनुभयो । माले र माक्र्सवादीबीच एकता गर्दै दुई पुस्ताको राजनीति जोड्ने कामको अगुवाई पनि मदनले नै गरेको उहाँले बताउनुभयो ।

विकास र समृद्धि, परराष्ट्र नीतिमा पनि भण्डारीको दुरदृष्टि नीतिको प्रसंशा गर्नुभयो । हतियारबाट मात्रै परिवर्तन सम्भव छ भन्ने तत्कालिन नेकपा माओवादी अहिले शान्तिपूर्ण राजनीतिमा आउनुको प्रमुख कारण पनि भण्डारीकै राजनीतिक सिद्धान्त प्रमुख भएको दाबी गर्नुभयो । ‘मदन भण्डारीको सिद्धान्तकै कारण परम्परागत ढाँचाको आफ्नो संगठनलाई बदल्न बाध्य भयो,’ उहाँले भन्नुभयो, ‘माओवादीको बहुपदीय ढाँचा त्यसैको कारण हो ।’

कर्यक्रमम सम्वोधन गर्दै प्रचार विभाग उपप्रमुख विष्णु रिजालले विश्वबाटै कम्युनिष्ट व्यवस्था संकटको अस्थामा गुज्रिरहेको बेला भण्डारीले नेपालको कम्युनिष्ट आन्दोलनलाई नयाँ शिराबाट अघि बढाएको बताउनुभयो । ‘मदन भण्डारीले ४१ वर्षको युवा उमेरमै धेरै कुरा सम्पन्न गरेर हामीबाट विदा हुनुभयो,’ उहाँले भन्नुभयो, ‘पार्टी नेतृत्वमा उहाँ जम्माजम्मी चार वर्ष मात्रै रहनुभयो ।

संसदीय राजनीतिमा उहाँ करीब २ वर्ष मात्रै रहनुभयो । तर, उहाँले छोटो समयमै नेपालको कम्युनिष्ट आन्दोलनलाई अन्तराष्ट्रिय स्तरमा ध्यानाकर्षण गराउने काम गर्नुभयो ।’ छोटो समयमै नेपालको कम्युनिष्ट आन्दोलनलाई जनताको बिचमा स्थापित गराउने र झड्का दिने काम पनि मदले गरेको रिजालले स्मरण गराउनुभयो ।

कर्यक्रममा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले पनि सम्वोधन गर्नुभएको थियो ।