मोरङ,१६ असार । वर्तमान प्रदेश १ सरकारले कार्यकर्ता पोस्ने खालको बजेट ल्याएको सांसद राजकुमार ओझाले आरोप लगाएका छन् ।
बिहिबार प्रदेशसभामा बोल्दै सांसद ओझाले सडक पूर्वाधार र सहरी विकास मन्त्रालय र यातायात तथा सञ्चार मन्त्रालयको छलफलमा सरकारले ल्याएको बजेट परिवर्तित गर्नुपर्ने बताए ।
पूर्व उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीसमेत रहेका ओझाले प्रतिपक्षका सांसदले जितेका निर्वाचन क्षेत्रलाई सरकारले उपहास गर्न खोजेको बताए ।
‘यो सरकारले बजेट निर्माणमा प्रतिपक्षका सांसदले टिपाएका कुनै योजना समेटेको छैन्,’ उनले भने, ‘आगामि निर्वाचनबाट नेकपा एमालेले विजयी भएर आएपछि यी गल्तीहरु सच्चाएर जनतामुखी बजेट बनाउँछ ।’
सरकारले सन्तुलित र समानुपातिक विकासमा जोड दिनुपर्ने उनको माग छ । नेकपा एमाले १ नम्बर प्रदेश कमिटी सदस्य समेत रहेका ओझा मोरङ क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित सांसद हुन् ।



















