काठमाडौं, १७ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड र माधव नेपालले २०७७ कातिक २७ गते नै नेकपा फुटाएको तथ्य राख्नुभएको छ । प्रचण्ड र माधवले पार्टी बिभाजनकै लागि दस्तावेज बनाएर नेकपा फुटाउने अपराध गरेको ओलीले बताउनु भयो ।

एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सदस्यहरुसँग भएको अन्तरक्रियामा अध्यक्ष ओलीले नेपालमा कम्यूनिष्ट आन्दोलनलाई सखाप पार्ने र दक्षिणपन्थीहरुलाई सहयोग गर्ने शर्तमा प्रचण्ड र माधवहरुले नेकपा फुटाएको बताउनु भयो ।

‘२०७७ कात्तिक २७ गते नेकपाको सचिवालय बैठक बालुवाटारमा बसेको थियो,’ तत्कालिन प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले भन्नुभयो ‘बैठकमा प्रचण्डले ज्ञापन पत्रको शैलीमा एउटा कागज मलाई बुझाउनु भयो । मैले रेन्डम्ली त्यसलाई पल्टाएर हेर्दा नेकपा सग्लो हुने देखिन ।’

विभागका सदस्यहरुसँग अध्यक्ष ओलीले त्यस दिनको सबिस्तार चर्चा पनि गर्नुभयो । उक्त दिनको स्मरण गर्दै भन्नुभयो, ‘मैले उहाँहरुलाई भने के तपाईहरु पार्टी फुटाउने निर्णयमै पुगिसक्नु भएको हो ? यस कागजले त नेकपा फुटिसकेको जनाउदिएको छ । यसमा तपाईंहरले हस्ताक्षर गरेर ल्याउनु भएको छ । पार्टी सग्लो राख्ने र कम्यूनिष्ट आन्दोनल बचाउने हो भने यो कागज फिर्ता लैजानुहोस ।’

पार्टीका अध्यक्ष र प्रधानमन्त्री ओलीलाई प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठले १९ बुँदे फौजदारी शैलीका आरोप लगाएर सचिवालयमा पत्र बुझाउनु भएको थियो । ‘पार्टीको निर्वाचित अध्यक्ष, संसदबाट चुनिएको प्रधानमन्त्रीलाई जबरजस्ती हटाउन उनीहरु कतैबाट परिचालित थिए । कातिक २७ गते त्यसको कास्टिङ नेकपाको सचिवालय बैठकबाट गरेका हुन ।’

अध्यक्ष ओलीले त्यसको सुरुवात धेरै पहिले भइसकेको बताउनुभयो । ‘त्यो ज्ञापन पत्र नेकपा फुटाउने सुरुवात विन्दु थिएन । यसको सुरुवात धेरै पहिला भइसकेको थियो,’ अध्यक्ष ओलीले भन्नुभयो ‘त्यसको डिजाइन के थियो ? को को थिए भन्ने कुरा पछि सर्वोच्चको परमादेशबाट स्पष्ट भयो ।’