जनकपुरधाम,२ साउन । प्रतिपक्षी नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले माधव नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादीको ठूलो पंक्ति माउ पार्टी एमालेमै फर्किन लागेको खुलासा गरेका छन् ।

सोमबार जनकपुरधाममा आयोजित मधेश प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा एकीकृत समाजवादीको ठूलो पंक्ति एमालेमै फर्किन लागेको खुलासा गरेका हुन् ।

समाजवादीबाट कोको फर्किन लागे भन्ने विषयमा भने उनले खुलाएनन् । तर, समाजवादीको ठूलो टिम एमालेमा फर्किन लागेको भने खुलाए ।

उपाध्यक्ष पाण्डेले समाजवादीका नेताहरु माओवादीमा जान नसक्ने र आफ्नो अस्तित्वको रक्षा पनि गर्न नसक्ने दाबी पनि गरेका छन् । उनका अनुसार माओवादीमा प्रवेश गरेपछि जनयुद्धबाट सिर्जित पार्टीको सदस्य हुन आएको छु भन्नुपर्छ ।

उपाध्यक्ष पाण्डेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट नभएको बारे पनि टिप्पणी गरेका छन् । उनले भारतबाट आउनेवित्तिकै प्रचण्डले चीन पनि जान्छु भनेपछि मोदीले भेट नगरेको पनि ठोकुवा गरे ।