विराटनगर,७ साउन । गत स्थानीय चुनावमा उम्मेदवारहरुलाई असहयोग र अन्तरघात गर्ने नेकपा एमालेका कार्यकर्ताहरुको छानविन गरी दोषीलाई कारबाही गर्न बनेको कार्यदलले काम सुरु गरेको छ ।

विराटनगरमा केही दिनअघि सम्पन्न नेकपा एमालेको प्रदेश कमिटि बैठकले स्थायी समिति सदस्य शेरधन राईको नेतृत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलका सदस्य रामकुमार बस्नेतका अनुसार कार्यदलको पहिलो बैठक बसि कार्य प्रारम्भ गरिएको छ ।

प्रदेश कमिटिले राईको संयोजकत्वमा संगठन विभाग प्रमुख बस्नेत र प्रदेश कमिटि उपाध्यक्ष टिकाराम चेम्जोङसहितको तीन सदस्यीय कार्यदल बनाएको थियो ।

कार्यदल सदस्य बस्नेतले असहयोग, असमझदारी र अन्तरघातको विषयमा छानविन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउने बताए । यो समिति अधिकार सम्पन्न भएकाले यसले दोषीहरुलाई उन्मुत्ति नदिने उनले जानकारी दिए ।

नेकपा एमाले प्रदेश कमिटिमा झण्डै डेढ दर्जन असहयोग र अन्तरघातको उजुरी परेको छ । कार्यदलले एक महिनाभित्र उजुरी, निवेदन र सम्बन्धीत व्यत्तिका भनाई र प्रमाणहरु संकलन गर्ने तयारी गरेको छ । तल्ला कमिटिबाट आएका निर्णय र उजुरीमाथि पनि छानविन गरिने बस्नेतले बताए ।

बुधबार बसेको कार्यदलको पहिलो बैठकले यी सबै प्रक्रियालाई अघि बढाएको जानकारी दिँदै बस्नेतले तल्ला कमिटिलाई उजुरीको आव्हान समेत गरे ।

नेकपा एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले नै पार्टीभित्र अन्तरघात बढेको बताइरहेको बेला प्रदेश कमिटिले कार्यदल सक्रिय बनाएको हो । केन्द्रीय तहबाट पार्टीका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल चुनावी समिक्षा र आगामी रणनीतिका विषयामा छलफल गर्न तीन दिन विराटनगर बसेका थिए ।