काठमाडौं,७ साउन । विवेकशील साझा पार्टीका कर्णाली प्रदेश पूर्वसंयोजक गेहेन्द्रप्रसाद दाहाल नेकपा एमालेमा प्रवेश गरेका छन् ।
एमाले प्रदेश कमिटीले वीरेन्द्रनगरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा पूर्वसंयोजक दाहाल सहित ८६२ जना नेता-कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका हुन् । नव प्रवेशीहरुलाई एमाले महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गरेका थिए ।
देशमा लोकतान्त्रिक गणतन्त्र आइसकेपछि प्राप्त उपलब्धिको रक्षा गर्न विवेकशील साझा पार्टीले नसक्ने देखिएपछि एमालेमा प्रवेश गरेको दाहालले बताएका छन् । एमालेमा प्रवेश गर्दै दाहालले स्थायित्व, लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाको काम एमाले बाहेकको अन्य शक्तिले गर्न नसक्ने दावी समेत गरे ।
एमालेमा प्रवेश गरे लगतै सभालाई सम्बोधन गर्दै दाहालले नेपालमा जनताको बहुदलीय जनवाद विचारबाट नै सुखी नेपाली र समृद्ध नेपालको नारा साकार हुने तर्क गरे ।



















