काठमाडौं,४ साउन । पूर्व अर्थमन्त्री जनार्दन शर्माले छानबिन बिशेष समितिको प्रतिवेदनका आधारमा सफाई पाउने निश्चित भएको छ । गत जेठ १४ गते राती अर्थमन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गराएपछि प्रकाशित समाचारको प्रभावका कारण उनले राजीनामा दिएका थिए ।
योसँगै अब भावी अर्थमन्त्रीको खोजी सुरु भएको छ। चाँडै चुनावको मिति घोषणा गर्ने तयारी र चुनावपछि मन्त्रिपरिषद हेरफेर गर्न नमिल्ने भएकाले तत्कालै अर्थमन्त्री नियुक्त गर्नुपर्ने दबाबमा प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धन परेका छन्। गठबन्धनबाट माओवादीको भागमा अर्थ मन्त्रालय परेकाले अब परिपूर्ति गर्दा पनि माओवादीबाटै हुने निश्चित छ।
त्यसो हुँदा अर्थमन्त्री कसलाई पठाउने भन्ने विषयमा माओवादीभित्र र बालुवाटरमा दौडधुप सुरु भएको छ। दाहालले पार्टीका प्रभावशाली नेताहरूसँग नयाँ अर्थमन्त्रीमा कसलाई पठाउँदा ठीक होला ? भनेर सुझाव मागेका छन्।
यदि नयाँ व्यक्तिलाई पठाउने हो भने हरिबोल गजुरेललाई जिम्मेवारी नदिन वर्षमान पुन र जनार्दन शर्माले पार्टी अध्यक्ष प्रचण्डलाई सुझाएका छन्।
त्यसो हुँदा माओवादीमा शर्मा, पुन, नारायणकाजी श्रेष्ठ र शक्ति बस्नेतमध्येबाट एक जनालाई अर्थमन्त्री छान्नुपर्ने भएको छ। कर छुट प्रक’रणमा क्लिन चिट पाएका जनार्दन शर्मा आफैँ पुनः अर्थ मन्त्रालय फर्किने कसरतमा लागेका छन्।
शर्माले आफूलाई पुनः अर्थमन्त्रालयको जिम्मेवारी दिन पार्टी अध्यक्ष प्रचण्डलाई दबाब दिएका छन्। शर्माको पक्षमा अनधिकृत रूपमा करका दर हेरफेर गरेर फाइदा लिएको व्यापारिक गिरोहले पनि पुनः अर्थ मन्त्रालय फर्काउन लागि परेको छ।
प्रधानमन्त्री पत्नी आरजु राणाले पनि शर्मालाई नै निरन्तरता दिन दिल्लीबाट दबाब दिएको स्रोतले जानकारी दियो। राणा स्वास्थ्य उपचारको क्रममा दिल्लीमा रहेकी छिन्।
तर, शर्मालाई पुनः अर्थमन्त्रालयको जिम्मेवारी दिने पक्षमा अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री देउवा स्वयम् रहेका छैनन्। देउवाले सकेसम्म शर्माबाहेक अरू कसैलाई सिफारिस गर्न आग्रह गरेका छन्। प्रचण्ड र देउवा दुवैको रोजाइमा पूर्वअर्थमन्त्रीसमेत रहेका पुन परे पनि उनले अहिलेको अवस्थामा आफू इच्छुक रहेको जवाफ दिएका छन्।
पुनले बिग्रँदो अर्थतन्त्र, विवादित बजेट कार्यान्वयन गर्नुपर्ने र छोटो अवधिको अर्थमन्त्रीभन्दा चुनावपछिको मन्त्री बन्ने चाहना प्रचण्डसमक्ष व्यक्त गरेका छन्। खुमलटार स्रोतले भन्यो, ‘पुनजीलाई पठाउन अध्यक्षज्यू तयार हुनुहुन्छ तर उहाँले अहिले म जान्न भनिरहनुभएको छ।’
प्रचण्डको निर्देशनमा अर्थसचिव मधु मरासिनीले पनि पुनसँग भेटेर मन्त्री बन्नु भनी आग्रह गरेका छन्। मरासिनीले आफू सहयोग गर्न तयार रहेको भन्दै पुनलाई कन्भिन्स गर्ने कोसिस गरेका छन्। अर्थसचिव मरासिनी प्रचण्डका विश्वास पात्र हुन्। दाहालले नै भनेपछि उनी शर्मा अर्थमन्त्री भएपछि सचिव बनेर अर्थ गएका थिए।
पुन बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा १८ महिना अर्थमन्त्री भएका थिए। उनको त्यो कार्यकाल तुलनात्मक रूपमा सफल रहेको बताइन्छ। असार २२ गते शर्मामाथि छानबिन गर्न संसदीय समिति बनेपछि पुनले शर्मा नै पुनः अर्थमन्त्रालय फर्किने दाबी गरेका थिए।
नेता नारायणकाजी श्रेष्ठले पनि आफूलाई उपप्रधानसहित अर्थ मन्त्रालयको जिम्मेवारी दिन प्रचण्डलाई आग्रह गरेका छन्। राष्टियसभा सदस्य रहेका श्रेष्ठलाई पठाउने विषयमा प्रचण्ड इच्छुक नरहेको बताइन्छ। शक्ति बस्नेतको विषयमा ठोस रूपमा कुरा भइनसके पनि उनको संभावना पनि उत्तिकै छ। पुनले अस्वीकार गरिरहेको अवस्थामा दाहाल र देउवाको रोजाइमा बस्नेत पर्ने संभावना बलियो छ।



















