बुटवल,१४ साउन । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले आगामी निर्वाचनमा पार्टीलाई विजयी बनाउन विगतमा गरेका राम्रा कामलाई जनस्तरमा पुर्याउने, बिपक्षीले गरेका गलत कामको भण्डाफोर गर्ने र अन्तरपार्टी व्यवस्थापन गर्ने काममा तत्काल लाग्न निर्देशन दिनुभएको छ ।

बुटवलमा जारी नेकपा एमाले लुम्बिनी प्रदेशस्तरीय संगठन व्यवस्थापन तथा परिचालन कार्यशालामा शनिबार प्रशिक्षणमूलक मन्तब्य दिँदै रणनीतिक योजनामा लाग्न निर्देशन दिनुभएको हो । सरकारमा रहँदा एमालेले दुरगामी प्रभाव पार्ने काम गरेको प्रसङ्ग उल्लेख गर्दै ती कामलाई व्यवस्थित ढङ्गले जनतामा लैजान जरूरी रहेको उहाँले बताउनुभयो ।

स्थानीय चुनाबमा एकलरूपमा काँग्रेस वा अरू कुनै पार्टी नेकपा (एमाले) सँग नलडेको, गठबन्धन लडेको स्मरण गराउँदै चौतर्फी घेराबन्दीका वीचमा सर्वाधिक लोकप्रिय मत प्राप्त गरेको तथ्य उहाँले प्रस्तुत गर्नुभयो । आगामी निर्वाचनमा कार्यक्षेत्रको सुझाव, जित्नसक्ने सम्भावना र जितिसकेपछि पनि उचित काम गर्ने व्यक्तिलाई प्राथमिकता दिई टिकट वितरण गर्ने नीति रहेको बताउनुभयो ।

उपाध्यक्ष पौडेलले नेकपा (एमाले) विचार निर्माणका हिसावले, संगठन निर्माण र परिचालनका हिसावले संसारका अन्य सबै पार्टीभन्दा व्यवस्थित र सुदृढ रहेको विश्वास व्यक्त गर्दै केही समययता पार्टी आफ्नै मौलिक अभ्यासबाट स्खलित हुन पुगेकोमा चिन्ता प्रकट गर्नुभयो ।

‘एमालेको सार्वभौमसत्ता एमालेका सदस्यमा निहीत रहेकाले सिद्धान्त, नीति र कार्यक्रम कार्यकर्ताले चाहे अनुसार नै हुने तर, सिद्धान्तको बर्को ओढेर गुटवन्दी गर्ने अधिकार कसैसँग छैन’, उहाँले भन्नुभयो ।