दाङ,१९ साउन । दाङमा नेपाली कांग्रेस, माओवादी केन्द्र, राप्रपालगायतका दल परित्याग गरी ३०१ जना नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एमाले दाङले बिहीबार घोराहीमा आयोजना गरेकोपार्टी प्रवेश तथा स्वागत कार्यक्रममा माओवादी केन्द्रका जिल्ला सदस्यसहित २५१ जना, नेपाली कांग्रेसबाट ९० जना र राप्रपाका प्रदेश सदस्यसहित १० जना एमाले प्रवेश गरेका हुन् ।

माओवादी केन्द्रका जिल्ला सदस्यहरू सरस्वती नेपाली, राजेशकुमार आचार्य, तेजप्रसाद भुसाल, डम्बरबहादुर डाँगी, गोपाल भुसाल, निरजकुमार चौधरी, सोमप्रसाद चौधरीसहित २५१ जना एमाले प्रवेश गरेको एमाले जिल्ला सचिव मनोहर बुढाथोकीले जानकारी दिए । त्यस्तै नेपाली कांग्रेस निकट किसान संघ दाङका पूर्व अध्यक्ष डिल्ली चौधरी, नेताहरू शरद बुढाथोकी, बमबहादुर डिसीको नेतृत्वमा ९० जना र राप्रपाका प्रदेश सदस्य प्याउली केसीको नेतृत्वमा १० जना एमाले प्रवेश गरेका छन् । नव प्रवेशीहरुलाई एमाले महासचिव शंकर पोखरेलले स्वागत गरेका थिए ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा सफल बनाउन सबैलाई एकजुट हुन आह्वान गरे । एमालेले सुरु गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को अभियानलाई निष्कर्षमा पुग्न नदिन सबै लागिपरेको भन्दै महासचिव पोखरेलले मुलुकको हित नचाहने पक्षलाई जनादेशकै बलमा असफल बनाउने बताए ।

मुलुकमा राजनीतिक ध्रुवीकरण आवश्यक रहेको भन्दै महासचिव पोखरेलले एमालेको नीति र विचारलाई आत्मसात गर्ने पार्टीसँग चुनावी तालमेल हुने बताउए । सरकारले मंसिर ४ गतेका लागि निर्वाचन घोषणा गरिसकेको अवस्थामा चुनाव केन्द्रित अभियानमा जुट्न सबै नेता कार्यकर्ताहरूलाई महासचिव पोखरेलले निर्देशन दिए ।

जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेतको अध्यक्षतामा आयोजित पार्टी प्रवेश कार्यक्रममा पोलिटव्यूरो सदस्य एवं जिल्ला इञ्चार्ज नरुलाल चौधरी, एमाले नेता जीवन गौतमलगायतका नेताहरूले सम्बोधन गरेका थिए ।