- भूमिप्रसाद पाठक
पथरी,२१ साउन । नेकपा (एमाले) पथरी शनिश्चरे नगरपालिका कमिटीको चौथो बैठक निकै महत्त्वपूर्ण निर्णय सहित आज सम्पन्न भएको छ । नगर अध्यक्ष रमेश दाहालको अध्यक्षतामा बसेको यो बैठक स्थानीय तह निर्वाचन २०७९ सम्पन्न भएयता पहिलो हो ।
चित्र र चरित्र दुबै हिसावले परस्पर नमिल्ने राजनीतिक दलबलबीच सत्तास्वार्थको लागि बनेको परमादेशी गठबन्धनका विरुद्ध आफ्नो राजनीतिक बैचारिक अडान र स्थानीय तह निर्वाचनमा प्रकट भएको सर्वाधिक ठूलो जनअभिमतका साथ अघि बढ्ने संकल्प गर्दै सम्पन्न चतुर्थ बैठकले नेकपा (एमाले) लाई फेरि पनि यहाँ पहिलो शक्ति हुनेमा कुनैले धृष्टता नगरे हुने जनाएको छ ।
पार्टीको जिल्ला कमिटीले आउँदो २३ गते महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम विराटचौकमा राखेकोप्रति खुशी व्यक्त गर्दै कमिटी प्रणालीअन्तर्गत जिम्मेवारीमा रहनुभएका सबैलाई सो कार्यक्रममार्फत ११ बजेअगावै अनिवार्य सामेल हुन बैठक निर्देशन गरेको नगर सदस्य बिन्दु उरावले आफ्नो प्रतिक्रियाको क्रममा भन्नुभयो ।
९९ सदस्यीय नगर कमिटी सदस्य र १० वटाबाट आमन्त्रिक १० जना वडाध्यक्ष सहितको उपस्थितिमा सम्पन्न बैठकले निर्वाचनमा अनपेक्षित परिणामको सुक्ष्म समिक्षा गर्नुका साथै आसन्न दिनहरूका लागि रणनीतिक योजना तर्जुमा गरेको बैठकमा सहभागी १ नं. वडाध्यक्ष प्रदीपकुमार राईले बताउनुभयो ।
बैठकले स्थानीय तह निर्वाचनमा नगरपालिकाको विभिन्न जिम्मेवारीमा पार्टीको तर्फबाट उठाइएका सूर्यचिन्ह ध्वजाबाहक मोहनप्रसाद तुम्बापोलगायत सबैलाई जिताउन मतदान गर्नुहुने स्थानीय मतदातालाई तिनको यो मतमार्फत रहेको उल्लेख्य योगदानप्रति हार्दिक आभार व्यक्त गरेको छ भने यो फराकिलो मतान्तर सहित जीतको आधार तयार गर्न निवर्तमान नगरप्रमुख दिलिपकुमार राई नेतृत्वको जनप्रतिनिधिले खेलेको भूमिकाको उच्च सम्मान गरेको छ । वडाध्यक्ष राईका अनुसार यसैको प्रतिफलस्वरुप विजेता सम्पूर्ण उम्मेदवारलाई सगर्व बधाई सहित पार्टीको नेतृत्वमा गठित बहुमत कार्यपालिका सदस्यलाई उहाँहरूको कार्यकाल सफलताको शुभकामना व्यक्त गरेको छ ।
पार्टी नगर सचिव भीमकुमार राईले बाचन गर्नुभएको प्रस्तावमा बैठकले समाजमा बढ्दै गएको असहिष्णुउन्मुख कतिपय व्यवहार, शहरबजारमा दिनदहाडै चोरी, लुटपाट आदिको घटनाप्रति निन्दा एवं भत्सर्ना प्रकट गर्दै यसको चुस्त व्यवस्थापनका लागि सम्बद्ध निकायसमक्ष माग गरेको छ । उहाँका अनुसार बैठकले नगरमा यहाँको प्रारम्भिक समययता विकराल रहेको सुकुम्बासी, दोहोरो प्रकृतिको स्वामित्व, अस्तव्यस्त बसाइँ आदि समस्या अविलम्ब समाधान गर्न समेत बैठकले माग गरेको छ ।
करतल ध्वनीका साथ पास भएका दर्जनौं प्रस्तावमा मोरङको विराटनगरपछि पथरी शनिश्चरे नगर शिक्षा विकासको केन्द्र जस्तो बनेको भए पनि नगरमा समग्र शैक्षिक सुधारको काममा एकरुपता नभएकोले यसमा एकरुपता ल्याउन, दैनिक अनुगमनलाई तीब्र बनाउन, बालशिक्षा र प्रौढ शिक्षालाई सञ्चालनमा ल्याउन, कतिपय स्कुलमा पिउने पानी र शौचालय आदिको उचित ढंगले प्रबन्ध गर्न, अलपत्र भएका पूर्वाधार विकासको प्रक्रियालाई प्रभावकारी ढंगले अघि बढाउन बैठकले एकस्वरमा माग गरेको उपसचिव रुकमणि अधिकारी बजगाइँले जनाउनुभयो ।
सामाजिक सञ्जाल र कतिपय इलेक्ट्रोनिक सञ्चारमाध्यममार्फत पार्टीको स्थानीय राजनीतिक–बैचारिक नेतृत्व एवं जनप्रतिनिधिको भूमिका रहेको राजकीय नेतृत्वलाई खुइल्याउन नानाथरीका लाञ्छनाहरू निकाल्ने गरिएकोप्रति यथार्थमा पुग्न माग गर्दै नगर इञ्चार्ज पार्थबहादुर बुढाथोकीले बाहिरफेर आएअनुसारका विषयवस्तुमा सम्बन्धित नेतृत्वबाट प्रस्टोक्तिको माग गर्दै विद्वेष सिर्जना गर्ने, समाजलाई भड्काउने र जथाभावी सञ्जाललाई रंगाउनेलाई कानुनतः दायरामा लिनुपर्ने माग गरेको जानकारी गराउनुभयो । इञ्चार्ज बुढाथोकीले नगरपालिकाको प्रशासनिक भवन र फोहोरमैलाको व्यवस्थापनबारे जनमानसमा तीब्र ढंगले कुरा उठेकोतर्फ संकेत गर्दै यसको अविलम्ब व्यवस्थापनमा ध्यान दिन नगरपालिका प्रमुखलगायत निर्वाचित सबै जनप्रतिनिधिहरू समेतको ध्यानाकर्षण गराएको विषय उल्लेख गराउनुभयो ।

बैठकमा सहभागी नगर सदस्य गोपाल लुइँटेलका अनुसार सम्पन्न बैठकले स्थानीय कृषकलाई चाहिने मात्रामा विभिन्न प्रजातिय बिउ, मल, किटनाशक ओखती, खाद्यान्न आदि सहजरूपमा उपलब्ध नभइरहेकोले यसको आपूर्तिमा सरकारको ध्यान जानुपर्ने माग सहित सम्बन्धित सबै निकाय र सरकारी तहको गम्भीर ध्यानाकर्षण गराएको छ ।
संक्षिप्त टेलिफोन संवादमा नगर सदस्य वडा नं. ९ निवासी स्थानीय नेता फनिन्द्र कार्कीका अनुसार बैठकले नगरको पूर्वमा बक्रा र पश्चिममा डाँस खोलाको उपद्रोले स्थानीयलाई सिर्जना गरेको भयंकर ठूलो त्रासको विषयलाई गम्भीर रूपमा लिएको छ र तत्काल नदी कटान रोकथाम र दीर्घकालीन हिसाबले हरित तटबन्धनको आवश्यकताअनुसार कार्यारम्भ गर्न बैठकले नगरसमक्ष माग गरेको बताउनुभयो ।

बैठकले नगरभित्रका श्रमिक मजदूरका विषयमा चासो मात्र होइन, गम्भीरतापूर्वक लिएको खुशी व्यक्त गर्दै बैठक कक्षबाहिर भेटिनुभएका मजदूर नेता हरिकुमार सुवेदीका अनुसार स्थानीय श्रमजीवी र असंगठित क्षेत्रका मजदुरका समस्यामा सरकार गम्भीर नभएको र तिनका समस्या समाधानका लागि गम्भीरतापूर्वक पहल नलिइरहेको गुनासो आएकोले आफ्नो राजपत्रांकित व्यवस्थापनसम्बन्धी यो वर्गको समस्यालाई सुनवाइ र व्यवस्थापन गर्न बैठकले जोडदार माग गरेको बताउनुभयो ।
बैठकले स्थानीय सरकार गठनका १०० दिन हुन लाग्दै गर्दा पक्ष र प्रतिपक्षको राजनीतिक शक्तिको अनिवार्य उपस्थितिमा सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गर्न र विषयविज्ञ एवं सरोकारवालाको मौजुदा अवस्थामा आवधिक कार्ययोजना तर्जुमा गर्न स्थानीय संसदीय नेतृत्वलाई निर्देशन गरेको नगर सदस्य निलकण्ठ सुवेदीले जनाउनुभयो । नेता सुवेदीका अनुसार विगतमा विभिन्न कारणले निर्वाचन आयोगको अभिलेखिकरणबाट छुट हुन पुगेका वालिग मतलाई आयोगको मतदाता सूचिमा सूचिकृत हुन समेत बैठकले अपील गरेको छ ।

उपसचिव एलबी भण्डारीका अनुसार आज सम्पन्न बैठकले स्थानीय शिक्षक, बामपंथी बुद्धिजीवी र दलित मुक्ति आन्दोलनको योद्धा दुर्गाबहादुर विश्वकर्मा, वडा नं. ४ निवासी नगर सदस्य प्रेम न्यौपानेको श्रद्धेय आमा देवीकला न्यौपाने र वडा नम्बर ८ स्थित मिलन आधारभूतका प्राचार्य श्री शिक्षक ढलबहादुर मगरको असामयिक निधनबाट बैठकले समाजमा ठूलो क्षति भएकोप्रति दुःख प्रकट गर्दै दिवंगत सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकाकूल परिवारजनमा गहिरो शोक समवेदना प्रकट गरेको छ भने पार्टी केन्द्रीय वन तथा वातावरण विभाग सदस्य अर्जुनकुमार क्षेत्रीको स्वास्थ्यलाभ लिइरहनुभएको श्रद्धेय आमा गीतादेवी बुढाथोकी, ८४ र स्थापित नेतृ अरुणा राईको श्रीमान वलराम राई मृगौलासम्बन्धी रोगबाट निदान पाउन उपचाररत दुबैलाई शीघ्र र प्रभावकारी स्वास्थ्यलाभको कामना गरेको छ ।
पार्टी केन्द्रीय सदस्य युवराज बास्कोटा,प्रदेश सचिवालय सदस्य रामकुमार बस्नेत केन्द्रीय वन तथा वातावरण विभाग सदस्य अर्जुनकुमार क्षेत्री, , नगरप्रमुख मोहनप्रसाद तुम्बापो, जिल्ला अध्यक्ष ऋषिकेश पोखरेलले सम्बोधन गर्नुभएको उक्त बैठकमा प्रदेश सदस्य दिलिपकुमार राई, पर्शुराम मिश्र, जिल्ला सदस्य भगतचन्द्र थपलिया, पार्थबहादुर बुढाथोकी, निर्मला गदाल विश्वकर्मा, दुर्गादेवी सुवेदी दंगाल, डिल्लीराम पोखरेलको आतिथ्यता रहेको थियो ।
कतिपय आन्तरिक कार्यभार सचिवालयले सम्हाल्ने अख्तियारी यो बैठकले विगत निर्वाचनमा अन्तरघात जसकसैलाई पनि छोड्न नहुने माथिल्लो कमिटीको योजनाअनुरुप यहाँबाट पनि आवश्यक कारबाहीको प्रक्रियालाई अघि बढाइने १ नं. वडाध्यक्ष एवं पार्टी सचिव भीमकुमार राईले जनाउनुभयो ।



















