काठमाडौँ,१ भदौ । राष्ट्रिय युवा संघ नेपालले सरकारका विरुद्ध सुरु गरेको काठमाडौंको फोहोर सफाइ अभियानलाई बुधबार पनि जारी राखेको छ ।
रचनात्मक विरोध कार्यक्रम अन्तर्गत युवा संघले बुधबार चाबहिल र गौशाला क्षेत्रको फोहर उठाएको छ । यूथ फोर्स विभागको व्यवस्थापनमा बुधबार ६ टिपर फोहर संकलन गरिएको युवा संघ नेपालले जनाएको छ ।

काठमाडौंका फोहोर उठाउन सरकार र काठमाडौं महानगर पालिकाले ध्यान नदिएपछि युवा संघ नेपालले दबाब दिन विरोध स्वरूप फोहोर उठाउने अभियान सुरु गरेको छ । काठमाडौंको बानेश्वरबाट सोमबारदेखि युवा संघले सो अभियान सुरु गरेको हो ।
सडकमा थुप्रिएको फोहोरले रोग फैलन खतरा बढेकाले राज्यलाई दबाब दिन फोहर संकलन अभियान सुरु गरिएको संघका अध्यक्ष किरण पौडेलले जानकारी दिनुभयो । ‘यो अभियान हाम्रो आह्वान हो, अपिल पनि हो, सबै आऔँ फोहर उठाऔँ’, पौडेलले भन्नुभयो ।
संघका उपाध्यक्ष तथा यूथ फोर्स विभागका प्रमुख पुष्पराज श्रेष्ठले फोहर संकलन अभियान निरन्तर सञ्चालन गरिने बताउनुभयो । सडकबाट उठेको फोहर विसर्जन केन्द्रमा लगेर सही तरिकाले व्यवस्थापन गरिने उहाँले जानकारी दिनुभयो । बिहीबार पनि फोहोर उठाउन युवा संघका कार्यकर्ता परिचालित हुने उहाँले बताउनुभयो ।



















