कञ्चनपुर, भदौ १० । नेकपा एकीकृत समाजवादी (नेकपा एस) पार्टी कञ्चनपुरमा रित्तिने अवस्थामा पुगेको छ । अध्यक्ष माधव नेपालले निर्णय गरेरै नेकपा माओवादी केन्द्रमा बिलय गराउने नीति लिएपछि कञ्चनपुरमा बिगतमा माधवतिर लागेका सवैजसो नेता–कार्यकर्ता नेकपा एमालेमा फर्कने निर्णयमा पुगेपछि सो पार्टी रित्तिने अवस्थामा पुगेको हो ।
कञ्चनपुरका शीर्ष नेताहरू नेकपा एमालेमा फर्किने तयारी गरिरहेका बेला नेकपा एसले डाँकेको जिल्ला कमिटी बैठकमा अधिकांश नेता, कार्यकर्ता सहभागी नभएपछि सो पार्टी रित्तिने प्रष्टै संकेत मिलेको हो । जिल्ला कमिटी बैठकमा प्रभावशाली पदाधिकारी र सदस्यहरू नै उपस्थित नभएपछि एस रित्तिने संकेत देखिएको सोही पार्टीका एक नेताले बताएका छन ।
‘हामी कोही पनि माओवादीमा बिलय हुन तयार छैनौं, अव बिस्तारै एकीकृत समाजवादीको जिल्ला कमिटी नै एमालेमा समाहित हुने देखिन्छ,’ ती सदस्यले भने, ‘बैठकमा आउनुभएका प्रमुख अतिथि महासचिव बेदुराम भुसाल निकै निराश देखिनुभयो ।’ कञ्चनपुरका प्रभावशाली नेतासहित नेकपा एस कञ्चनपुरका ७ जना पदाधिकारीमध्ये ४ जना एमालेमा फर्किंने निर्णयमा पुगेका छन ।
पार्टी पोलिटब्यूरो सदस्य तथा प्रदेश अध्यक्ष बिक्रमबहादुर शाही, केन्द्रीय सदस्य तथा प्रदेश कमिटी उपसचिव, पूर्वमन्त्री तारा लामा तामाङ, संघीय सांसद बिना बुढाथोकी, जिल्ला उपाध्यक्ष अशोक चन्दलगायत नेता, कार्यकर्ता एमालेमा फर्किने निश्चित भएको हो । उहाँहरुलाई यही भदौ १५ गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गर्ने कार्यक्रम तय भएको छ । जनता टाइम्सबाट



















