काठमाडाैं,१० भदौ । नेकपा एमालेले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा बहुमत ल्याउन अभियान थाल्ने भएकाे छ ।

एमालेले 'एक पार्टी सदस्य, दुई भोट' अभियान चलाउन लागेकाे हाे । शुक्रबारदेखि सुरु भएकाे केन्द्रीय कमिटी बैठकका निर्णय सुनाउने क्रममा एमाले उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले साे जानकारी दिनुभएकाे हाे ।

एमाले आफ्नाे शक्तिमा भर पर्ने भन्दै उहाँले अहिले एमालेकाे लाेकप्रिय मत ३४ प्रतिशत रहेकाे र त्यसमा ५-७ प्रतिशत मत बढाउन सके पार्टीकाे बहुमत आउने बताउनुभयाे ।
लाेकप्रिय मतलाई ५० प्रतिशत पुर्‍याउनका लागि विभिन्न याेजना बनाइएकाे बताउँदै उहाँले भन्नुभयाे -'एउटा पार्टी सदस्यले २ भाेट बढायाे भने १६ लाख बढ्छ, त्याे अभियान साथ लागेका छाैं, हामीसँग त्याे आधारहरु छन्, एक घर एक पार्टी सदस्य अभियान पनि सुरु गरेका छाैं ।'

दशौँ महाधिवेशनपछि पार्टी सदस्य संख्या करिब ११ लाख पुगिसकेको भन्दै प्रचार विभाग प्रमुख गुरुङले त्यसअनुसार व्यवस्थित रुपले अभियान चलाउँदा थप २ लाखसहित १८ लाख भोट बढ्ने सम्भावना रहेको बताउनुभयाे ।

घात-अन्तर्घातकाे श्रृंखला अन्त्य गर्न सकेकाे भए स्थानीय तह चुनावमा पहिलाे पार्टी हुने अवस्था रहेपनि त्यसमा चुकिएकाे प्रचार विभाग प्रमुख गुरुङले बताउनुभयाे । घात-अन्तर्घातकाे श्रृंखला अन्त्य गर्दै आन्तरिक जीवनलाई व्यवस्थित गर्दै बहुमत ल्याउने अभियानसाथ चुनावमा हाेमिने उहाँले बताउनुभयाे ।