विराटनगर,१४ भदौ । नेपाली काङ्ग्रेस क्षेत्र नम्बर ३ को क्षेत्रीय समितिले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको उम्मेदवारमा डा. सुनिल शर्माको नाम सिफारिस गरेको छ ।
मंगलबार बसेको बैठकले नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पताल विराटनगर र काठमाडौं मेडिकल कलेजका सञ्चालक शर्माको एकल नाम सिफारिस गरेको हो । डाक्टर शर्मा महाधिवेशन प्रतिनिधिसमेत हुन् । बैठकले समानुपातिक तर्फ भने तीन जनाको नाम सिफारिस गरेको छ ।
क्षेत्रीय सभापति गणेश खड्काका अनुसार शर्माको नाममा सहमति जुटेपछि एक जनाको मात्र नाम सिफारिस भएको हो । ‘केन्द्रको सर्कुलर अनुसार हामीले मिटिङ राखेका थियौं, ६ जनाले आकांक्षा देखाएपनि प्रत्यक्ष तर्फ शर्माको नाममा सहमति भयो’, उनले भने,‘समानुपातिक सूचीका लागि तीन जनाको नाम सिफारिस गरेका छौं ।’
समानुपातिक सूचीमा बसन्त भट्टराई, जयराज संयोक लिम्बु र मित्रसेन योञ्जनको नाम सिफारिस भएको उनले बताए ।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आउँदो प्रतिनिधिसभा निर्वाचनका लागि मोरङ-३ बाट अभिनेत्री रेखा थापाको नाम सिफारिश गरेको छ।
प्रत्यक्षतर्फ दुई जनाको नाम सिफारिश गरेको राप्रपाले पहिलो नम्बरमा थापाको नाम उल्लेख गरेको छ। राप्रपा बेलबारी नगरका अध्यक्ष नगेन्द्र कार्कीका अनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ थापा र अम्बिकाप्रसाद अधिकारीको नाम सिफारिस गरेको हो।
उनका अनुसार पार्टीले थापा र अधिकारीको नाम सिफारिस गरेको र उनीहरू तालमेल भए पनि नभए पनि चुनाव लड्ने बताए।
राप्रपाबाट अभिनेत्री थापाको पनि नाम यही क्षेत्रबाट आएको छ। थापाको घर सुन्दरहरैंचा ९ सलकपुरमा पर्छ।
मिस कोशीको उपाधि जितेर नेपाली सिने क्षेत्रमा अघि बढेकी रेखा कुनैबेला माओवादीमा थिइन्। पछिल्लोपटक राप्रपा प्रवेश गरेकी उनी महाधिवेशनमा महामन्त्रीमा लडेकी थिइन्।



















