धनगढी, १५ भदौ । नेकपा एकीकृत समाजवादी छोडेर नेकपा एमालेमा फर्किनुभएका सुदूरपश्चिम प्रदेशका नेता विक्रमबहादुर शाहीले माधव नेपालप्रति कडा टिप्पणी गर्नुभएको छ ।
एमाले कञ्चनपुरले आज आयोजना गरेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै शाहीले एमालेको माधवलाई नांगेझार पारिदिनु भएको हो । उहाँले आफू मुल घरमै फर्किएको भन्दै कुनै कमिटीमा नबस्ने घोषणा पनि गर्नुभयो ।
‘म साथीहरुलाई एमाले फर्काउने अभियानमा लाग्नेछु । कांग्रेस र माओवादी हराउने अभियानमा सक्रिय हुनेछु,’ शाहीले भन्नुभयो ।
उहाँले नेकपा एकीकृत समाजवादी पार्टी माग्ने भाडो भएको ठोकुवासमेत गर्नुभयो ।
‘माधव नेपालजीले पार्टीलाई माग्ने भाडो बनाउनुभयो, उहाँले शेरबहादुर देउवासँग माग्ने भाडो बनाए,’ शाहीले भन्नुभयो ‘जुन उद्देश्यकासाथ पार्टी बन्यो, त्यो गर्न सकेन, पार्टी बनाउनु भन्ने नेताहरुका लागि त्यहाँ ठाउँ रहेनछ,’ शाहीले भन्नुभयो ।
उहाँले अवसरका लागि एमालेमा नफर्किएको समेत बताउनु भयो । ‘१४ वर्षको उमेरदेखि राजनीतिमा लागेँ, ३४ वर्ष भयो, अहिलेसम्म वडा अध्यक्षसमेत भएको छैन,’ उनले भने, ‘एमालेमा फर्किनुस् भन्दा अवसरका लागि भनियो । हामी अवसरका लागि एमालेमा फर्किएका होइनौं,’ शाहीले भन्नुभयो ।



















