काठमाडौं,१५ भदौ । नेकपा माओवादी केन्द्र सिन्धुली नेतृत्व विहीन भएको छ । कुनै बेलाको माओवादीको आधार इलाका भनेर चिनिने सिन्धुली अहिले नेतृत्वविहीन बनेको हो ।
सिन्धुलीमा माओवादीका जिल्ला कमिटी संयोजकले नै पार्टी छाड्नु भएको छ । सिन्धुली माओवादी जिल्ला संयोजक रामकुमार पौडेल माओवादी छाडेर एमाले प्रवेश गर्नुभएको छ ।
बुधबार सिन्धुलीको मरिण गाउँपालिकाको कपिलाकोटमा आयोजित वृहत् जनसभामा माओवादी केन्द्रीय सदस्य मिथिला फुयाँलसँगै जिल्ला संयोजक रामकुमार पौडेल एमाले प्रवेश गर्नुभएको हो । त्यस्तै माओवादी केन्द्र मरिण गाउँपालिका कमिटी अध्यक्ष गोपाल बुढाथोकी सहित पाँच सय नेता कार्यकर्ता एमालेमा समाहित भएका नेकपा एमाले जिल्ला अध्यक्ष रामकुमार कार्कीले जानकारी दिनुभयो ।
उहाँहरूलाई एमाले केन्द्रीय महासचिव शंकर पोखरेलले पार्टी प्रवेश गराउनुभएको हो । पोखरेलले फूलका गुच्छा दिएर उहाँहरूलाई पार्टीमा स्वागत गर्नुभएको थियो ।



















