काठमाडौं,१६ भदौ । एमाले विभाजन भएर नेकपा (एस) गठन भएपछि दल रोज्ने क्रममा सुदूरपश्चिम प्रदेशसभामा नेकपा (एस) १४ सदस्यसहित सबैभन्दा ठूलो दल बनेको थियो । तर, अब प्रदेशसभामा सो पार्टीका १२ सदस्य मात्रै बाँकी रहेका छन् ।
प्रदेशसभामा अब नेकपा माओवादी केन्द्र १३ सदस्यसहित सबैभन्दा ठूलो दल बनेको छ । यस्तै कांग्रेस ११ र एमालेमा १० जना प्रदेश सदस्य रहेका छन् । यस्तै जसपा र लोसपाका एक/ एक जना प्रदेश सदस्य रहेका छन् । नेकपा एसका २ जना एमालेतर्फ लागेपछि सुदूरपश्चिम प्रदेश सरकारमा माओवादी केन्द्र पहिलो पटक ठूलो दल बनेको हो ।
हाल प्रदेशसभामा ठूलो दल रहेको एकीकृत समाजवादीका दुई प्रदेशसभा सदस्य (तारा लामा तामाङ र कुलवीर चौधरी) एमाले प्रवेश गरेसँगै उनीहरू निलम्बनमा पर्ने छन् ।
१४ प्रदेशसभा सदस्यसहित ठूलो पार्टी बनेको नेकपा एसका २ सदस्य निलम्बनमा परेमा अब एससँग १२ प्रदेश सभा सदस्य मात्रै हुने छन् । २०७४ मा सम्पन्न प्रदेश निर्वाचनमा १४ सांसद जितेको माओवादीबाट एकजना (झपट बोहरा) एमालेमा गएसँगै माओवादीसँग १३ जना मात्रै थिए ।



















