चैनपुर,२० भदौ । नेकपा एमाले प्रदेश १ का अध्यक्ष तुलशीप्रसाद न्यौपानेले आफु एउटै कक्षा दोहोर्याउने पक्षमा नरहेको बताउनु भएको छ । संखुवासभाको प्रदेश सभा ख बाट निर्वाचित सांसद् समेत रहेका न्यौपानले यस्तो बताउँदै आफु प्रदेश सभाको उम्मेद्वार हुने लाइनमा नरहेको स्पष्ट पार्नु भएको हो ।

संखुवासभाको प्रदेशसभा ख का लागि उम्मेदवार चयन गर्न चैनपुरमा भएको नेकपा एमाले प्रदेशसभाको भेलालाई सम्बोधन गर्दै न्यौपानेले कार्यकर्ता पंतिबाट नयाँ अनुहारको माग भएका कारण आफुले मार्ग प्रशस्त गर्न लागेको समेत प्रष्ट पार्नुभयो । अबको परिस्थितिमा एउटै कक्षामा पटकपटक जान नमिल्ने भन्दै उहाँले अब नयाँ नेतृत्व आउनेमा ढुक्क हुन कार्यकर्तालाई आग्रह गर्नुभयो ।

उहाँले अन्य नेताहरुलाई समेत एउटै कक्षा नदोहोर्याउन सुझाव दिनुभयो । अध्यक्ष न्यौपानेले अबको निर्वाचनमा सूर्य चिन्हको उमेदवारलाई बिजय गराउनेतर्फ लाग्न कार्यकर्ताहरुलाई निर्देशन समेत दिनुभयो । भेलाले प्रदेशसभा ख मा विदुर लिंथेप, भीम लिंखा, भरत खत्री र धनसिंह जिमीलाई सिफारिस गरेको छ ।