काठमाडौं, २४ भदौ । सत्तारुढ गठबन्धन भत्किने संकेत गरेको छ । संघीय संसद र प्रदेशको सिट बाँडफाँडका लागि बसेको गठबन्धनको पटक–पटकको बैठक निष्कर्षमा नपुगेपछि गठबन्धन भत्किने संकेत देखिएको हो । सत्ता गठबन्धनको निर्णायक भनिएको आजको बैठक पनि अझै नटुंगिएका कारण शनिबारसम्मका लागि स्थगित भएको छ ।

भागभण्डा नमिलेपछि आज बस्ने भनिएको बैठक भोली दिउसो ३ बजेसम्मका लागि स्थगित गरिएको हो । बालुवाटारमा गठबन्धनको बैठक बस्ने भनिएपनि भागबन्डा नमिल्दा स्थगित भएको हो । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको व्यस्तताका कारण बैठक स्थगित भएको बताइएको छ ।

तर भागबन्डा नै नमिलेका कारण बैठक स्थगित भएको नेकपा एसका एक नेताले जानकारी दिनुभयो । सीट बाँडफाँटका लागि गठन भएको कार्यदलले गठबन्धनका शीर्ष नेतालाई आफ्नो प्रतिवेदन बुझाइसकेका छन् । गठबन्धन बैठकबाट शीर्ष नेताले सिट बाँडफाँड गरी टुंगो लगाउने भनिएको छ ।