काठमाडौं, २५ भदौ । सत्ता गठबन्धनका शीर्ष नेताहरूको छलफल बिनानिष्कर्ष सकिएको छ । आगामी निर्वाचनमा चुनावी तालमेल गर्दा कुन दलले कति सिट लिने भन्ने विषयमा सहमति जुटाउन भन्दै प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा शनिबार बसेको गठबन्धनका शीर्ष नेताहरूसहित कार्यदलका नेताहरूको बैठक सहमतिमा पुग्न नसकेको हो । सिट बाँडफाँटबारे छलफल भयो । तर सहमति भएन, एक नेताले भन्नुभयो भोलि ८ बजे फेरि बैठक बस्नेछ ।
गठबन्धनमा कांग्रेसले १०० सिट दाबी गरेको छ भने माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटमा दाबी गरेका छन् । सबै दलहरू आफ्नो दाबीबाट पछि हट्न तयार नहुँदा समस्या भइरहेको नेताहरूको भनाइ छ । सिट बाँडफाँटमा महिनौंसम्म सहमति जुटाउन नसके पनि अहिल्यै गठबन्धन टुट्ने सम्भावना भने नरहेको नेताहरूको भनाइ छ ।
शुक्रबार सिट बाँडफाँटको निर्णायक छलफल गर्ने भनिए पनि नेताहरू काठमाडौंबाहिर गएका कारण बैठक बस्न सकेको थिएन । नेताहरूले शनिबारको बैठकलाई भने निर्णायक बैठक भनेका थिए । तर सहमतिमा पुग्न सकेन । समानुपातिकतर्फ उम्मेदवारको सूची बुझाउने दिन नजिकिँदा दलहरूलाई सिट बाँडफाँट टुंग्याउन दबाब बढेको छ ।



















