काठमाडौं,२७ भदौ । नेकपा एमालेले संविधान दिवसलाई राष्ट्रिय दिवसका रुपमा भव्य रुपमा मनाउने भएकाे छ ।
संविधान दिवसकाे अवसरमा एमालेले काठमाडाैं उपत्यकामा विशेष कार्यक्रम गर्न लागेकाे हाे । पार्टी केन्द्रीय कार्यालय च्यासलमा साेमबार बसेकाे पदयात्रा तयारी समितिकाे बैठकले आठौं संविधान दिवसका अवसरमा असोज १ गते उपत्यकामा हजारौंको सहभागितामा पदयात्रा आयोजना गर्ने निर्णय गरेको छ ।
०७२ साल असोज ३ गते नेपालको संविधान-२०७२ जारी भएको थियाे । निर्वाचन आयोगले संविधान जारी भएको दिन असोज ३ गते प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेस गर्ने मिति तोकेकाले२ दिन अगाडि नै कार्यक्रम गर्न लागिएकाे एमालेले जनाएकाे छ ।
उपत्यकाका नयाँ बानेश्वर, मैतिदेवी, लैनचौर, कालिमाटी र ललितपुरको कुपण्डोलबाट हजारौं मानिसहरूको सहभागितामा सुरू हुने पदयात्रा वसन्तपुर पुगेर समापन हुने कार्यक्रम छ ।
बैठकमा पार्टी उपमहासचिव विष्णु रिमालले लामो राजनीतिक संघर्षपछि नेपाली जनताले संविधान सभाबाट संविधान पाएको विषयलाई त्यही उचाइमा महत्व दिनु आवश्यक रहेकाे बताउनुभयाे । जसका लागि पार्टीले एउटा परम्पराको थालनी गर्न चाहेको र यसबर्ष पदयात्रा आयोजना गर्न लागेकाे उहाँकाे भनाइ छ ।
उपमहासचिव रिमालले संविधान दिवस राष्ट्रिय दिवस भएकाले यस दिवसमा राष्ट्र उठ्नुपर्ने बताउनुभयाे । संविधान दिवसका अवसरमा आयोजित कार्यक्रमलाई पार्टीको घेराभित्र सीमित नगरिएको र देशभक्त, सामाजिक क्षेत्र, पेशा, व्यवसायमा संलग्न तथा एमालेप्रति शुभेच्छा राख्ने आम जनसमुदायलाई सहभागिताका लागि आह्वान गरिएको छ ।



















