✍️ भीमज्वाला राई 

विधि र कानुन विपरित निर्माण गरिएका संरचना हटाउने अभियान सकारात्मक छ । यस अभियानप्रति एक्यबद्धता छ । तर, सडकपेटी तथा गल्लीमा खुद्रे पसल गरेर जीवन चलाईरहेका स्वरोजगार श्रमिकहरुलाई गिरफ्तार गर्ने, लछारपछार एवम् हातपात गर्ने, सामान कब्जा गर्ने जस्ता कार्य अमानवीय र निन्दनीय छ ।
सानो पूँजी लगानी गरेर फलफूल, तरकारी, जुत्ताचप्पल, कपडा लगायतका सामग्रीहरु सस्तो मूल्यमा विक्री गर्ने निम्न वर्गका नागरिकलाई गिरफ्तार गर्ने, हातपात गर्ने र सामान कब्जामा लिएर दुरुत्साहन गर्ने होईन सम्मान र प्रोत्साहित गर्नु पर्छ ।

काठमाडौं उपत्यकामा मात्रै करिव ५० हजारको हाराहारीमा स्वरोजगार श्रमिकहरु रहेका छन् । २ लाख आश्रीत परिवार छन् । यही पेशा गरेर आफ्ना सन्ततीको शिक्षादिक्षा र पालनपोषण गरेका छन् । बेरोजगारीको समस्यालाई एकहदसम्म यही पेशाा गरेर स्वयम् श्रमिकहरुको तहबाट व्यवस्थापन गरेका छन् ।
स्थानीय सरकार सबैको अभिभावक हो । अभिभावक आतङ्ककारी जस्तो हुनुहुँदैन, अपहरणकारी जस्तो हुनुहुँदैन, लुटेरा जस्तो हुनुहुँदैन । हरेक समस्या समाधानका उपायहरु तथा विकल्पहरु अघि सार्नु पर्दछ ।

305450702_8314467285231747_6797308735612126057_n

मेयरसाप निम्न विषयमा सोच्नुहोस् :

१, नागरिक बजार
महानगरभीत्र रहेका सबै वडाहरुमा “नागरिक बजार” सञ्चालन गरि सस्तोमा नागरिकले सामान पाउने व्यवस्था गर्ने । त्यसका लागि स्वरोजगार श्रमिकहरुलाई टहराको व्यवस्था गरी व्यवसाय गर्ने वातावरण तत्काल बनाउने ।
२. सन्ध्याकालिन बजारको व्यवस्था
दिर्घकालिन रुपमा “नागरिक बजार” सञ्चालन नहुँदासम्मका लागि महानगरभीत्र सन्ध्याकालिन बजारको व्यवस्थाका लागि निश्चित समय र स्थानहरुको निर्धारण गर्ने, चाड तत्काल आइनै सकेकाले चाड केन्द्रीत अस्थायी स्थान र समय निर्धारण गर्ने ।
३. जफतग रिएका सामानहरु फिर्ता :

निम्न वर्गीय स्वरोजगार श्रमिकहरुको लगानी रहेका सामानहरु महानगर प्रहरीद्धारा कब्जा गरि लिलाम गरिएको छ त्यसलाई रोकेर सम्बन्धीत श्रमिकहरुलाई सामानहरु फिर्ता गर्ने ।

४. श्रम डेस्कको स्थापना :
काठमाण्डौं महानगरपालिकामा श्रम डेस्कको स्थापना गरि आवश्यक सूचिकरण, श्रम सम्बन्ध समस्याहरुको व्यवस्थापन गर्न कामको थालनी गर्ने ।
५. कार्यदल गठन :
उत्पन्न समस्या समाधान र भविष्यमा आउने समस्या समाधानका लागि सरोकारवालाहरु सम्मिलित “नागरिक बजार तथा स्वरोजगार श्रमिकको समस्या समाधान कार्यदल” गठन गर्ने ।
हार्दिक अभिवादन सहित ।

# भीमज्वाला राई
जिफन्ट राष्ट्रिय कमिटी