काठमाडौँ,३० भदौ । कुनै समय यस्तो थियो, सरकारले जे निर्णय गरे पनि विरोधमा सडकमा आगो बलिहाल्थ्यो । विरोधका नाममा विरोध गर्ने प्रवृत्तिले गुठी विधेयकदेखि कतिपय नगरी नहुने काम पनि रोकिए ।
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका हरेक कदममा विरोध गर्न नारायण वाग्लेदेखि अनेकथरी मान्छेहरुको पेसा नै विरोध र सडक अवरुद्ध गर्ने थियो । तर अहिले कांग्रेस नेतृत्वको गठबन्धन सरकार र शेरबहादुर देउवा प्रधानमन्त्री भएर आएपछि ती सदावहार विरोधीहरु एकाएक दुला पसेका छन् ।
अहिले बजारमा महँगीले आकाश छोएको छ । व्यापारीहरु ऋण र ब्याज तिर्न नसकेर सुसाइड नोट लेखिरहेका छन् । दसैँमा घर जाने बाटो अस्तव्यस्त छ । तर सरकारको प्राथमिकतामा यी कुनै कुरा पनि छैनन् । हुँदाहुँदा अब बिरामी पर्दा सबैभन्दा पहिला आवश्यक पर्ने सिटामोल समेत बजारमा पाइन छाडेको छ । तैपनि देउवा सरकारलाई सिटामोल त देऊ भनेर कसैले सम्झाइरहेको छैन ।
सिटामोल अत्यावश्यक औषधीमा सूचीकृत छ । सरकारले स्वास्थ्य संस्थामा निःशुल्क वितरण गर्ने औषधीको सूचीमा पनि दोस्रो नम्बरमै छ । तर, अहिले बिरामीले सिटामोलसमेत पाउन सकेका छैनन् ।
लामखुट्टेको टोकाइबाट सर्ने डेंगु र भाइरल सरुवा रोगका कारण सिटामोलको भाग अत्यधिक बढेको छ । सिटामोल उत्पादन गर्ने सरकारी कम्पनी नेपाल औषधी लिमिटेडले भने कञ्चा पदार्थको अभावका कारण मागअनुसार उत्पादन गर्न नसकिएको बताउँछ । यति ठूलो समस्यामा सरकारी निकाय बेसरोकारजस्तै देखिएका छन् ।
यो अहिलेको मात्र समस्या भने होइन । अत्यावश्यक औषधिमा पर्ने सिटामोल माग बढ्नेबित्तिकै बजारमा अभाव हुन थाल्छ । अहिले करिब ३ महिनादेखि देशभर नै फैलिएको डेंगु संक्रमण र भाइरल ज्वरोका कारण बजारमा सिटामोलको माग बढेको छ ।
ज्वरो र स्वास्थ्यमा अरू प्रकारका सामान्य समस्या हुँदा बढी प्रयोग हुने सिटामोल बजारमा सहजै पाइन छाडेको हो । डेंगुमा उच्च ज्वरो आउने हुँदा चिकित्सकले सादा अर्थात् अरू कुनै औषधी नमिसाइएको सिटामोल खान सुझाव दिन्छन् । डेंगु संक्रमणको कुनै उपचार नभएका कारण चिकित्सकले सिटामोलबाहेक अन्य औषधी सेवन नगर्न भनेका छन् ।
डेंगु र भाइरल ज्वरोमा बढी प्रयोग हुने सादा सिटामोल नेपाल औषधी लिमिटेडले उत्पादन गर्छ । सरकारी स्वामित्वको यस कम्पनीका आफ्नै गुनासा छन् । कञ्चापदार्थ समयमा नै आपूर्ति नभएका कारण सिटामोलको उत्पादन रोकिएको लिमिटेडको भनाइ छ ।
लिमिटेडसँग दिनको ३ लाख २० हजार चक्की सिटामोल उत्पादन गर्ने क्षमता छ । एक दिनको फरक राखेर मात्र यहाँको मेसिन चलाउन मिल्छ । सामान्यतः नेपालमा वार्षिक ८ करोड चक्की सिटामोल आवश्यक पर्छ । तर लिमिटेडले मागको ३० देखि ४० प्रतिशत मात्र उत्पादन गर्छ । लागत खर्च बढी पर्ने जनाएर निजी औषधी कम्पनीले पनि सिटामोल कम उत्पादन गर्छन् । यही कारण बर्सेनि माग बढ्नेबित्तिकै बजारमा सिटामोल अभाव भइहाल्छ ।
प्रतिचक्की १ रुपैयाँमा बिक्री हुने सिटामोल उत्पादनमा लागत भने डेढ रुपैयाँ पर्ने उत्पादकको दाबी छ । कञ्चा पदार्थको मूल्य बढेका कारण पनि संस्था घाटामा गएको र बजारको मागअनुसार उत्पादन हुन नसकेको औषधी लिमिटेडको भनाइ छ ।
बजारमा अत्यावश्यक औषधीको अभाव हुँदा पनि उत्पादन क्षमता बढाउन र कच्चा पदार्थ आपूर्तिमा सहजीकरण गर्न त सरकारले कुनै भूमिका देखाएको छ । न त सरकारको ध्यानाकर्षण गराउन नै कसैले आवश्यक ठानेको छ । नागरिक समाजमा देखिएको यस खालको सन्नाटाले के जनाउँछ भने या त यो देशमा अहिले सबै ठीकठाक छ । या त असन्तोषको भयानक हुरी चल्नुअघिको सन्नाटा देशमा चलिरहेको छ ।



















